रुद्र गुरुङ : एउटा कुकुरले बदलिदियो जीवनको मोड

टोकियो युनिभर्सिटीका प्रोफेसर एजाबुरो यूनोले यात्राका क्रममा एक बेवारिसे कुकुरको बच्चा फेला पार्छन् । त्यो कसको हो ? सोधीखोजी गर्छन् । तर, कुकुरको मालिक भेटिदैन । उनले कुकुरको बच्चा आफ्नो घरमा ल्याउँछन् । आफुसँगै पाल्छन् । कुकुरको नाम, हचिको ।

यस क्रममा हचिकोसँग उनको सम्बन्ध यति प्रगाढ हुन्छ कि, उनीहरु एकसाथ टिभी हेर्ने, खेल्ने गर्छन् । जब प्रफेसर एजाबुरो यूनो दिनहुँ रेल यात्राबाट आफ्नो युनिभर्सिटी आउजाउ गर्छन्, कुकुरले उनको साथ छाड्दैन । निरन्तर पच्छ्याइरहन्छ । आखिर यो क्रम पनि नियमित जारी रहन्छ । सधै प्रोफेसरको पछि लागेर हचिको युनिभर्सिटीको अघिल्तिर पुग्छन् । दिनभर त्यहीको पार्कमा बस्छन् । र, साँझ प्रोफेसरसँगै घर फर्किन्छन् । उनीहरु एकअर्कासँग यसरी रमाउँछन् कि, कुनै हालतले अलग हुनै सक्दैन ।तर, समय सधै एकनास हुँदैन । सधै झै एकदिन हचिकोले आफ्ना मालिकलाई कुरेर बस्छन्, मालिक फर्कदैनन् । हचिको कुरिरहन्छन् । कुरिरहन्छन् । प्रोफेसर एजाबुरो फेरी फर्केर आउँदैनन् । किनभने उनको युनिभर्सिटीमा अचानक मृत्यु भइसकेको हुन्छ ।

त्यसपछि दिनहरु वित्दै जान्छ । यद्यपि हचिको मालिकको पर्खाइमा त्यही बसिरहन्छ । एक दिन होइन, दुई दिन होइन । १० बर्षसम्म हचिको त्यसरी नै मालिकलाई पर्खिरहन्छ । यो प्रतिक्षा त्यसबेलासम्म रहन्छ, जबसम्म हचिकोको प्राण जादैन ।च्लचित्र ‘हाचीः ए डग्स टेल’ को कथासार हो यो । चलचित्र हचिको नामक कुकुरको वास्तविक कथामा आधारित थियो । त्यसो त ‘हचिको’ नामक उक्त कुकुरको कथामा त्यसअघि नै जापानी भाषाको चलचित्र बनिसकेको थियो ।

हचिको एक यस्तो कुकुर हो, जसले समग्र कुकुरको वफादारीलाई प्रतिनिधित्व गर्छ । जापानका चर्चित पत्रिकाले सन् १९३२ मा नै हचिकोको बारेमा फिचर स्टोरी प्रकाशित गरेको थियो । त्यसपछि उक्त कुकुर सेलिब्रेटी झै बन्यो । उनलाई हेर्नका लागि मान्छेहरु टोकियोका शिबुवा रेल स्टेशनसम्म आउन थाले । सन् १९३४ मा सोही स्टेशनमा उक्त कुकुरको शालिक बनाइयो । शालिकको भव्य उद्घाटन समारोहमा सोही हचिकोलाई मूख्य अतिथि बनाइएको थियो ।

सन् १९३५ मा हचिकोको मृत्यु भयो ।

रुद्र गुरुङको कथा दुरुस्तै यस्तै त छैन । यद्यपि अनायस भेटिएका एक कुकुरको बच्चाले उनको जीवनमा अनौठो परिवर्तन ल्याइदियो । उनको सोच र कार्यशैली बद्लियो ।

एक साँझ,

सधै झै उनी आफ्नो कार्यथलोबाट घर फर्कदै थिए । घर अघिल्तिर एउटा बेवारिसे कुकुरको बच्चा भेटिए । त्यो कहाँबाट आएको थियो, कसको थियो वा कसले छाडेको थियो ? थाहा भएन । सडकमा अलपत्र परेको कुकुरको बच्चालाई उनले घरमा लिएर गए ।

त्यसअघिसम्म उनलाई कुकुरप्रति खास रुची थिएन । कुकुरप्रति न प्रेम थियो, न त घृणा नै ।

घरमा कुकुरको बच्चा ल्याएपछि त्यसले जथाभावी दिसापिसाब गर्ने नै भयो । घरको सरसामन चलाउने, खेलाउने । अरुबेला जस्तो खानेकुरा खुला छाड्न नहुने, जुठो लगाइदिने डर । कामबाट थकित ज्यान लिएर फर्किएपछि साँझ श्रीमतीले भन्न थालिन्, ‘यसले यस्तो ग¥यो, यसरी दिसा–पिसाब सफा गर्नुप¥यो ।’

रुद्र गुरुङ सम्झन्छन्, ‘कुकुरको बच्चाले काम बढाइदियो । त्यसका लागि अलग्गै खाना बनाइदिने, दिसापिसाब सफा गर्ने ।’
बद्लियो पारिवारिक माहौल

समय बित्दै जाँदा के भइदियो भने कुकुरकै कारण उनीहरुको परिवारमा एकअर्कासँग संवाद हुन थाल्यो । ‘त्यसअघि जब म घर फर्कन्थें, सबैजना आ–आफ्नै सुरमा हुन्थे’ गुरुङ सम्झन्छन्, ‘श्रीमती भान्सामा, छोरा आफ्नै कोठामा, म अर्कोतिर । बोलचाल गर्ने मेलोमेसो नै नहुने ।’ खाना खाने समय पनि सबैका फरक फरक । कोही भान्सामै खाने, कोही काम गरेको ठाउँमा ।

तर पछि जब रुद्र गुरुङ साँझपख घर पुग्थे, कुकुरको निहुँमा पनि उनीहरु एकै ठाउँ भेला हुन थाले । कुकुरले दिनभर के ग¥यो भन्ने कुरा सुनाउन र सुन्ने क्रम चल्यो । अब छोरा एकोहोरो आफ्नै कोठामा पढेर बसेनन्, श्रीमती आफ्नै धुनमा भान्सामा बसेनन् । उनी पनि घर फर्किनसाथ ल्यापटप खोलेर काममा व्यस्त भएनन् । कुकुरको विषयलाई लिएर कुरा गर्दा गर्दै उनीहरु वैठक कोठामा भेला हुन थाले । यसरी एउटा कुकुरको बच्चाले उनीहरुको पारिवारिक माहौल नै परिवर्तन गरिदियो । आपसी संवादको मेलोमेसो मिलाइदियो ।

उनीहरुले कुकुरलाई प्यारो नाम राखिदिए, रक्की ।

रक्कीले अब कसैलाई पनि एकोहोरिएर बस्न दिएनन् । सबैसँग आउने, खेल्ने गर्न थाले । सुरुका दिनहरुमा कुकुर देख्दा डर लाग्ने उनीहरुमा कुकुरप्रति अनौठो लगाव रह्यो । कुकुरसँग रमाउने, भुलिने कुरा आफैमा एक थेरापी जस्तै थियो । धपेडी र तनाव भुलेको अनुभव भयो ।

बद्लियो कुकुरप्रति हेर्ने नजररक्कीसँगको संगतले के भइदियो भने जुन कुकुर देखेपनि माया लाग्ने । अर्थात कुकुरसँग घनिष्ठ संगत गरेपछि उनीहरुको भाषा र भाव बुझिने रहेछ ।

‘रक्कीले गर्दा समग्र कुकुरलाई हेर्ने दृष्टिकोण नै फेरियो’ गुरुङको अनुभव छ, ‘त्यसपछि मैले बाहिर सडकका, गल्लीका कुकुरहरुलाई पनि माया गर्न थालें ।’ बिहान कपन मिलनचोक स्थित आफ्नो घरबाट घुम्न निस्कदा उनी चोक, गल्लीमा भेटिएका कुकुरलाई बिस्कुट किनेर दिन थाले ।

कपनबाट दौडदै उनी आफ्नो कार्यलय अनामनगर आउँथे । यस बखत उनी गल्ली–गल्लीमा भेटिने कुकुरका लागि बिस्कुट दिने गर्थे । पछि त के भइदियो भने, जब उनी दौडदै आउथे कुकुरहरु पुच्छर हल्लाउँदै उनको आसपासमा झुम्मिन्थे । ति कुकुरहरुले आफ्नो प्रतिक्षा गरिरहेको झै लाग्थ्यो उनलाई ।

एकदिन गंगबुको ग्यारेज नजिक एउटा कुकुरको बच्चा देखे, बिजोग अवस्थाका । खान नपाएर हाड र छाला भएको । त्यसमाथि छाला खुइलिएको । घाउ नै घाउ भएको । उनले गाडीमा हालेर आफ्नो घर पु¥याए । औषधि लगाए, खान दिए । स्नेहपूर्वक स्यहार सुसार पाएर उक्त कुकुरको शरीर फेरियो । हेर्दाहेर्दै रहरलाग्दो भयो । त्यसको नाम राखिदिए, प्रिटी ।
अहिले रक्की र प्रिटी एकअर्काको साथी भएका छन् । र, दुबै रुद्र गुरुङको परिवारका सदस्य । एकसाथ खाने, एकसाथ सुत्ने, खेल्ने, रमाउने ।

बद्लियो जीवन

संयोग हो वा अरु केही, जुन दिनदेखि रक्की उनको घरको प्रवेश ग¥यो तब रुद्र गुरुङले आफ्नो भावनात्मक स्थिती मात्र होइन, व्यवहारिक स्थिती पनि केही सुधारिएको अनुभूत गरे । ‘त्यसअघिसम्म कहिले शारीरिक कुराले त कहिले व्यवहारिक कुराले मलाई बिझाइरहेको हुन्थ्यो’ उनी सुनाउँछन्, ‘अहिले सबैकुरा ठीकठाक भए झै लाग्छ ।’

व्यवहारिक कुराहरु सधै सही र सोचेजस्तै हुँदैन । यसमा अनेक उथलपुथल आइरहन्छ । तर, त्यस्ता अवस्थामा पनि कसरी स्थिर, शान्त र आनन्दित रहने भन्ने कुराको बेग्लै अनुभव संगाल्न थालेका छन्, उनले । कुकुरसँग मान्छेले आफ्नो भावना साट्न सक्ने उनले महसुष गरेका छन् । उनी भन्छन्, ‘तपाईं एक्लो हुनुभयो, तपाईं बेचैन हुनुभयो, छटपटी भयो भने कुकुरसँग खेल्ने, रमाउने गर्नुहोस् । बेग्लै आनन्द र ताजापन महसुष हुन्छ ।’

हुन त अहिलेको युगमा मान्छेले आफ्नो प्रतिष्ठाका लागि कुकुर पाल्ने गर्छन् । लाखौं, लाख मूल्यका कुकुर खरिद गर्ने र उत्तिकै खर्च गरेर पाल्ने गरेका छन् । नेपालमै लाखौं मूल्यका कुकुर पाल्नेहरु प्रशस्तै छन् । कतिले देखासेखीमा पाल्छन् भने कतिले क्षणिक रहर पुरा गर्न । धेरैजसाले कुकुरलाई देखी सहँदैन । बाटोमा चुपचाप बसिरहेको कुकुरलाई ढुंगाले हान्ने, लात्ताले बजार्ने, तातो पानी खन्याउने, एसिड लगाइदिने, खोल्सामा मिल्काइदिने जस्ता कृत्य पनि गर्छन् । तर, कुकुरको गुणलाई नजिकबाट बुझ्नेहरु यसभन्दा फरक हुन्छन् । रुद्र गुरुङ भन्छन्, ‘मैले सडकको कुकुरलाई उठाएर पालें । यही कुकुरले मलाई संसारभरको कुकुरहरुप्रति हेर्ने नजर बदलिदियो । यिनीहरुलाई बुझ्न सके सबै आफ्नै परिवारका सदस्य जस्तो लाग्ने रहेछ ।’

एक पटक पढ्नुहोस