काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक त्था पर्यटकीयस्थल नमोबुद्धमा हिजो बिहिबार साँझदेखि जात्रा सुरुभएको जात्रा शनिबार सम्पन्न हुने भएको छ । जात्राअन्तर्गत हिजो शुक्रबार साँझदेखि बौद्ध धर्मालम्बीले नमोबुद्धमा पितृको सम्झानामा ‘दीप प्रज्वलन’ गर्ने परम्परा रहेको छ ।
कात्तिक शुक्ल पूर्णिमा तिथि, अर्थात् आज शुक्रबार दिनभरसमेत बत्ति बाल्ने गरिन्छ । जात्राअन्तर्गत हिजो बिहिबार रातीदेखि पर्सी शनिबार विहानसम्म मेला लाग्ने गर्दछ भने मेला अवधिभर परम्परागत गीत तथा नृत्य प्रस्तुत गर्नेहरुको पनि उत्तिकै भीड लाग्ने गर्दछ । नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार मेला अवधिभर ‘पितृ’को सम्झानामा बत्ति बालिरहने गरिन्छ । बत्ति बाल्नाले पितृलाई बर्षभरी उज्यालो हुने मान्यता अनुसार यहाँ बर्षेनी पितृलाई बत्ति बाल्ने परम्परा रहेको उनले जानकारी दिए । पितृमोक्ष तथा आत्मा शान्तिका बत्ति बाल्ने गरिएको उनको भनाई छ ।
पूर्णिमाको दिन भने शान्तिका प्रतिक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको दिन मानिन्छ । उक्त दिन भने विशेष ठूलो भीड लाग्ने गर्दछ । किंबदन्ती अनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि जो, ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामारकण भएको स्थान । किंबदन्ती अनुसार द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्ज्वलन गर्न बर्षेनी बौद्ध धर्मालम्बीको निकै ठूलो भीड लाग्ने गर्दछ । मेलामा बर्षेनी करिव एक लाखले नमोबुद्धको दर्शन–पूजाअर्चना गर्ने मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।
विशेषगरी तामाङ र नेवार समुदायका धर्मालम्बीहरुले मेला भर्ने गरेको नमोबुद्धका मूल लामागूरु कान्छा लामा बताए । तत्कालीन पञ्चलादेश (पनौती राज्य)का राजा महारथ र रानी सत्यवतीका तीन छोरा पूर्वतर्फको गन्धमान पर्वत (जङ्गल)मा शिकार खेल्ने क्रममा कान्छा राजकुमारले भोकले छटपटिएको सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु काट्दै खुवाएर आफुले देहत्याग गरी जीवन प्रदान गरेको उनको भनाई छ ।
सोही विश्वासका आधारमा प्रत्येक कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गरेको हो । पाँच डमरु जन्माएका बघिनी लक्ष्मी र पाँच डमरु भिक्षु मानिएको हो लामागुरु लामाले भने । राजकुमारले बघिनिलाई बचाएर आफुले देहत्याग गरेपछि राजारानी सोही नजिकै बाँकी जीवन चैत्यसेवामा बिताएको किंमदती रहेको उनले बताए । तत्पश्चात राजारानी शङ्खेश्वरी अजि–अजिमाको नामले चिनिँदै आएको लामागुरुले जानकारी दिए ।
जात्रा–मेला बाहेक पनि नमोबुद्धमा सधैजसो स्वदेशलगायत विदेशका बौद्धमार्गीहरुको चहलपहल हुने गर्दछ । मेलामा यसबर्ष छिमेकी जिल्लाहरु सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडौ, धादिङ, नुवाकोटलगायतबाट सहभागिता रहने अनुमान गरिएको छ । हाल उक्त स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् । गुम्बामा बुद्ध पाठशालासमेत सञ्चालन हुँदै आएको छ ।