कोरोना केही होइन ? गलत ! यो महाव्याधिले जोसुकैलाई गम्भीर स्वास्थ्य समस्या सिर्जना गर्न सक्छ

जनस्वास्थ्यका नियमहरु कठोरतापूर्वक पालना गर्न–गराउन ढिला भइरहेको जनस्वास्थ्यविदहरुको चेतावनी

सरकारी तथ्यांकको विश्वास गर्ने हो भने मुलुकमा कोरोना संक्रमण ओरालो लाग्दो छ । तर जनस्वास्थ्यविदहरुको भनाइलाई पत्याउने हो भने स्थिति त्यसको ठीक उल्टो छ । अहिले कोरोना संक्रमण कम देखिनुको घटनालाई शुतुरमुर्गले बालुवामा टाउको लुकाएको जस्तै हो कि भन्ने प्रतित हुन्छ । भनिन्छ, पर दुश्मन आएको देखेपछि शुतुरमुर्गले आफ्नो टाउको बालुवामा गाड्छ रे र आफूले केही नदेखेपछि वरिपरि सबै ठीकठाक रहेको ठान्छ रे । अहिले संक्रमणको पहिचानको लागि परीक्षण व्यापक बनाउदै लैजानुपर्नेमा त्यसको ठीक उल्टो परीक्षणको दर र दायरा घटाएकै कारण संक्रमितको संख्या कम देखिएको हो भनी जनस्वास्थ्यविदहरुले बारम्बार भन्दै आइरहेका कुरालाई पटक्कै वेवास्ता गर्न मिल्दैन । त्यसमाथि थप, अहिले कोरोना संक्रमणको सम्भावना झनै बढ्दै गइरहेको स्थितिमा आम मानिसमा कोरोनाप्रतिको भय घटेको र जनस्वास्थ्यका नियमहरुको पालना गर्ने कुरामा व्यापक उदासिनता बढ्दै गइरहेको छ । यसले कोरोना संक्रमणको सम्भावनालाई झनै घनीभूत पार्दै लगेको छ ।
कोरोना संक्रमणलाई नियन्त्रण गर्न र रोकथाम गर्नका लागि विश्वका थुप्रै मुलुकहरुमा जनस्वास्थयका नियमहरुको पालनालाई अनिवार्य गरिएको छ र तिनको उल्लंघन गर्नेलाई कठोर दण्ड सजायको समेत व्यवस्था गरिएको पाइन्छ । तर नेपालमा स्थिति ठीक उल्टो छ । यस्तो स्थितिलाई जनस्वास्थ्यविद्हरुले कसरी हेरिरहेका छन् ? कोरोना संक्रमणको पछिल्लो स्थितिबारे के छ त उनीहरुको धारणा ? आउनुहोस्, जानकारी लिऔं ।

पछिल्लो समय मिडियामा कोरोनाभाइरस कोभिड—१९ का संक्रमित घटेको समाचार आउन थालेका छन् । कोरोना परीक्षण कम भएकाले संक्रमण दर कम देखिएको हो । दैनिक २०÷२५ हजार जनामा कोरोना परीक्षण गर्ने हो भने धेरैमा संक्रमण देखिन्थ्यो । धेरै मानिस घरघरमै बिरामी भएर बसेका छन् । संक्रमण भई गम्भिर भएको खण्डमा मात्रै अस्पताल पुगेका छन् ।

सरकारले सार्वजनिक गर्ने संक्रमितको संख्या घटेको देखिए पनि उपत्यकाका घरघरमा छ्यापछाप्ती केसहरु छन् । अस्पतालमा गम्भिर बिरामीको संख्या बढ्दै गएको छ । साथै मृतकको संख्या पनि बढ्दै गएको छ । त्यसैले सार्वजनिक यातयात चढ्दा, बजारमा जाँदा, कार्यालयमा काम गर्दा, उद्योगधन्दामा काम गर्दा, पदैल यात्रा गर्दा विशेष सावधानी अपनाउनुपर्छ । आन्दोलन, सभा सम्मेलनमा सकेसम्म सहभागी नहुने हुनै परेमा सामाजिक दुरी कायम गरेर मास्कको प्रयोग गरेर सरिक हुनुपर्छ ।

पछिल्ला दिनहरुमा नेपालका विभिन्न ठाउँमा सभा, प्रर्दशनहरु हुने क्रम बढेका छन् । तर तिन सहभागी हुनेहरुले जनस्वास्थ्यका आधारभूत नियमहरु अर्थात् मास्क, सामाजिक दूूरी कायम गरेका छैनन् । त्यसैले कोरोना संक्रमणको जोखिम झन बढ्दै गएको छ ।

नेपालमा संक्रमितको संख्या घट्दैमा जोखिम घट्यो भनेर भ्रममा पर्नु भएन । बजार, सडक, सार्वजनिक यातयातमा यात्रा गर्दा हामी कोरोनाकालभन्दा अघिकै अवस्थामा छौं कि जस्तो लाग्छ । सार्वजनिक यातयातमा यात्रा गर्दा मास्कको प्रयोग गरेपनि सामाजिक दुरी कायम नगरिकन बस्दा संक्रमणको सम्भावना बढ्छ । वृद्धवृद्धा, दीर्घरोगीलाई कोरोनाभाइरस संक्रमण भयो भने मात्र स्वास्थ्यमा समस्या आउने अन्यथा युवालाई कोरोना संक्रमण भइहाल्यो भने खासै केही हुँदैन भन्ने खालको भ्रम सृजना भएको छ ।

तुलनात्मक रुपमा युवाहरुलाई भन्दा दीर्घरोगी, वृद्धवृद्धालाई संक्रमण भएमा स्वास्थ्य अवस्था गम्भीर हुन्छ भन्ने कुरा सत्य हो । तर यो कुरा पनि थाहा पाउनु जरुरी छ कि कोरोना संक्रमणकै कारण थुप्रै युुवाहरुको स्वास्थ्य अवस्था गम्भीर हुुनुका साथै कतिपयको ज्यान समेत गएको छ । कोरोना संक्रमण हुँदा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासमा समस्या, गन्ध थाहा नपाउने, शरीर दुख्ने जस्ता कडा खालका लक्षणहरु देखिँदा बेडबाट ३÷४ हप्तासम्म उठ्न नसकेका धेरै युवालाई मैले देखेको छु । अझ संक्रमणकै कारण केही युवाको स्वास्थ्य अवस्था गम्भिर भएका उदाहरण प्रशस्त छन् । त्यसैले कोरोना संक्रमण हुँदा ख्याल नगरेको सन्र्दभमा र बेलैमा उचित उपचार नपाएको खण्डमा बालबालिका, वृद्धावृद्ध, युवा र दिर्घरोगी जसको पनि मृत्यु हुने सम्भावना हुुन्छ ।

कोरोना संक्रमणलाई सामान्य रुघाखोकी नठानौं । यो कडा खालको रोग हो । कोरोना संक्रमणको शुरुवाती कालखण्डमा सार्वजनिक स्थान, सार्वजनिक यातयात, बजारमा जाँदा पहिला पहिला सावधानी अपनाएको पनि देखियो । तर विस्तारै संक्रमण फैलन थालेपछि मानिसहरुले कोरोना सामान्य रुघाखोकी रहेछ भनेर हलुका ढंगले लिन थालेका छन् । यो गलत हो ।

हामी जहाँ बस्छौं, जहाँ यात्रा गछौं त्यही हामीले मास्कको प्रयोग, सामाजिक दुरी कायम गरौं, समयसमयमा सम्भव भए सावुनपानीले हात धुने, नभए सेनिटाइजरको प्रयोग अनिर्वाय रुपमा गर्नुपर्छ । सार्वजनिक यातयातमा यात्रा गर्दा उपत्यका भित्रै एक ठाउँबाट अर्को ठाउँ पुग्न कम्तीमा आधाघण्टा लाग्छ । यातायातमा यात्रा गर्दा मास्कको प्रयोग कसैले गर्छन्, कसैले गर्दैनन् त्यसैले कोरोना संक्रमण हुने सम्भावना बढी हुन्छ । १५ मिनेटभन्दा बढी यातयातमा कोचिएर बस्दा संक्रमण एकअर्कामा सर्ने सम्भावना धेरै हुन्छ ।

धेरै देशहरुले जनस्वास्थ्यका नियम पालना नगर्नेलाई कार्वाहीको दायरामा ल्याएर संक्रमणको सम्भावनालाई न्यून गरिरहेको अवस्थामा पनि छ । हाम्रो देशमा सरकारले मास्क नलगाउनेलाई कडाइ गरेको छैन । सम्भवतः त्यसरी कडाइ गर्दा जनता भड्किने र आगामी चुनावमा भोट नपाएर हारिन्छ कि भन्ने डर नेताहरुलाई होला ।

संसारमा सबैभन्दा तीब्र रुपमा कोरोनाभाइरस अमेरिका फैलिएको छ । अहिलेका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रुपमा सबैभन्दा पहिलो काम नै मास्क सम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गरेका छन् । उनले आफ्नो कार्यकाल शुरु भएसँगै सबै अमेरिकीलाई १ सय दिनसम्म मास्क लगाउन आह्वान गरेका छन् । १ सय दिन मास्क लगाएपछि कस्तो खालको प्रभाव पर्छ ? त्यसको आधारमा छनोट गरेर कोरोनाको खोपको व्यवस्था मिलाउने समेत भनेका छन् । कोरोनाको महाव्याधिबाट बच्नको लागि नेपालमा कोरोना विरुद्धको खोप आएर वृद्धावृद्ध व्यक्तिले नपाउन्जेल जनस्वास्थ्यका मापदण्ड कडाइका साथ आफैले आफैमा लागू गर्नुको विकल्प छैन ।

सरकारले महामारीेको जोखिम बुझाउन सकेन
डा.बावुुराम मरासिनी

कुनै पनि खालका महामारी आउँदा जनताहरुमा यो खालको जोखिम हुन सक्छ भनेर सरकारले बुझाउन सक्नुपथ्यो । नेपालमा कोरोना फैलन सुरु हुने वितिकै जनतामा विदेशबाट आएका मानिसलाई मात्रै कोरोना संक्रमण हुन्छ, नेपालीलाई लाग्दैन भन्ने खालका सूचना नजानिँदो ढंगले प्रवाह भए । भारतलगायत तेस्रो मुलुकबाट आउनेलाई मात्र कोरोना संक्रमणको सम्भावना बढी हुन्छ, उनीहरुको मात्रै परीक्षण गर्नु पर्छ भन्ने धारणको विकास हुँदा भित्रभित्रै कोराना संक्रमणले फैलिने अवसर पायो । फलतः यात्रा इतिहास नभएका मानिसलाई पनि संक्रमण देखिन सुरु भयो ।

नेपालमा समुदायस्तरमा फैलन थालेपछि पनि कोरोना संक्रमण भएमा वृद्धवृद्धा, दीर्घरोगी मात्रै गाह्रो हुन्छ अरुलाई केही हुँदैन भन्ने जस्ता संचार प्रवाह भयो । त्यसैले नेपालमा कोरोना संक्रमण, पहिचन र नियन्त्रणका बारेमा जानकारी दिँदा गलत सूचना प्रवाह भएको वा सही सूचनाको प्रवाहमा कमी भएको जस्तो लाग्छ ।

कोरोना संक्रमणको शुरुवातकालदेखि नै यसको जोखिममा हरेक व्यक्तिलाई छ, रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति झन बढी जोखिममा छन् भन्ने तरिकाले जनतामा माँझ सूचना सम्प्रेषण हुनुपर्थ्यो । तर त्यसो हुन नसक्दा यो महामारीकालमा पनि संक्रमणको जोखिम नभए झैँ गरेर मानिस निर्धक्क भएर व्यवहार गरिरहेका छन् ।

म युवा हुँ कोरोना संक्रमण भए पनि पचाउँन सक्छु भनेर अन्धविश्वासका साथ जनस्वास्थ्यमा मापदण्ड पालना नगरिक हिँड्नेहरु पनि छन् । ख्याल गर्नैपर्ने कुरा के हो भने अहिले विश्वव्यापी रुपमा महामारी फैलाइरहेको कोरोनाभाइरसको यो प्रजाति नितान्त नयाँ हो र यसले पैदा गर्ने कोभिड–१९ पनि त्यस्तै नयाँ रोग हो । यसमाथि विजय प्राप्त गर्नका लागि विभिन्न खोज अनुसन्धान भइरहेका छन् । अघिल्ला दिनमा स्थापित मान्यताहरुलाई पुष्टि गर्ने गरी वा त्यसका विपरीत हुने गरी हरेक दिन जसो नयाँ नयाँ तथ्यहरु प्रकाशमा आइरहेका छन् । त्यसैले यो रुघाखोकी त हो नि भनेर वेवास्ता गर्ने, हेलचेक्र्याइ गर्नेहरुले पछि अहिले हामीले थाहा नपाएका नयाँ नयाँ तथ्य सार्वजनिक हुँदा पछुताउँनुपर्ने परिस्थिति आउन पनि सक्छ भनेर बेलैमा होस पुर्याउनु जरुरी छ ।

सरकारले जोखिमका बारेमा आम जनतालाई सन्देश प्रवाह गर्न भाँती नपुर्याउँदा अहिलेको अवस्था आएको हो । दीर्घरोगी,वृद्धावृद्धालाई संक्रमण भयो भने मात्रै स्वास्थ्यमा समस्या आउँछ भन्ने अहिले बहुसंख्यकमा कायम भएको धारणा गलत हो । हामीले यो भुल्नु हुँदैन कि कोरोनाको संक्रमणले थुप्रै युवाहरुको पनि ज्यान गएको अवस्था पनि छ । बरु बालबालिकाका मृत्य भने न्यून संख्या भएको तंथ्याक सार्वजनिक भएको छ । अहिलको अर्को समस्या भनेको संक्रमण भएर स्वास्थ्यमा गम्भीर समस्या आयो भने उपचार गर्न कहाँ जाने ? भन्ने पनि हो । संक्रमणको सापेक्षतामा सरकारी तयारी अपुग हुँदा यखिेर कोभिड अस्पतालका आइसियू, भेन्टिलेटर, अक्सिजन बेड भरिभराउ छन् ।

अध्ययनका क्रममा संक्रामक रोगको ऐन नेपालमा २०१६ सालमा दुई प्रधानन्यायाधीश नयनबहादुर बिष्ट र विश्वनाथ उपाध्यायले ड्राफ्ट गरेका थिए । त्यस ड्राफ्टमा सरुवा रोगको मापदण्ड पालना नगर्नेलाई त्यतिबेला नै ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो । त्यो बेलाको ५ सय जरिवानाले काठमाडौंमा ढेड रोपनी जग्गा आउथ्यो होला भनेर अनुमान लगाउन सकिन्छ । त्यसबेलाको एक डलर बराबर ४ रुपैयाँ थियो । अहिले त्यो दण्डजरिवाना रकमलाई मूल्यांकन गर्ने हो भने करिब १५ हजार पर्न आउँछ । यस महामारीको समयमा जनस्वास्थ्यका मापदण्ड उल्लंघन गर्नेलाई कारवाही गरिनुपथ्र्यो । हाल कानुनसम्बन्धी दखल भएका मन्त्री नै स्वास्थ्यमन्त्री हुनुन्छ । जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई स्वास्थ्यमन्त्रालयले मन्त्रिपरिषद्मा लगेर कारवाहीस्वरुप जरिवाना तोकेर पूर्णरुपमा लागू गर्नु ढिला भइसकेको छ ।

सरकारको प्राथमिकतामा कोरोना महामारी परेको छैन
डा.रविन्द्र पाण्डे
सरकारले कोरोना परीक्षण र उपचार व्यक्ति आफैँले व्यवस्था गर्नुपर्ने नियम कार्तिक १ देखि घोषणा गर्‍यो । त्यसपछि स्वास्थ्यमा समस्या देखिए पनि परीक्षण गर्न जानेको संख्या कम देखिन थाल्यो । अहिले सरकारी तथ्यांकमा संक्रमितको संख्या कम देखिएको छ र तर वास्तविकता त्यसको विपरीत छ । कोरोना संक्रमणको शंका लागेका र लक्षणसमेत देखिएका मानिसलाई कोरोना परीक्षण र उपचार पहुँच बाहिर भएकाले संक्रमितको संख्या घटेको हो ।

वास्तवमा यतिखेर संक्रमणको दर तिव्र रुपमा फैलिएको छ । मौसम परिवर्तन र बढ्दो चिसोसँगै घरघरमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासमा समस्या भएका बिरामी बढ्दै गइरहेका छन् । तर, यी लक्षण कोरोना संक्रमणले देखिएको हो वा मौसमी फ्लू हो, यकिन नगरिकनै त्यसलाई मौसमी फ्लू ठानेर वेवास्ता गर्ने धेरै भेटिन्छन् । यथार्थमा आफूलाई कोरानाको संक्रमण भएको हो वा अरु नै कुनै कारणले रुघाखोकी लागेको हो भन्ने कुरा परीक्षणद्वारा यकिन नगरिकनै सार्वजनिक यातयातमा यात्रा गर्ने, आन्दोलन तथा प्रर्दशनमा जनस्वास्थ्यका मापदण्ड नअपनाइकन हिँड्दा झन जोखिम बढेको छ । यस्तो बेलामा जनस्वास्थ्यका नियमहरुको कठोरतापूर्वक पालना गराउनु जरुरी भइसकेको छ । महामारी फैलिएका धेरै राष्ट्रहरुले जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई कारवाही गर्ने वा जरीवाना गरेर भए पनि संक्रमण बढ्न नदिन कदम चालेको पाइन्छ ।

नेपालमा होमआइसालेशनमा बस्नेहरुले जनस्वास्थ्यको मापदण्ड पालना गरे–नगरेको, घर बाहिर निस्कदा मास्कको प्रयोग सहि तरिकाले गरे–नगरेको, सामाजिक दुरी कायम गरे–नगरेको अनुगमन गर्ने परिपार्टी छैन । यो भद्रगोलको स्थिति कोरोना संक्रमण फैलाउन झन सहयोगी भएको छ । यही कारण नै यतिखेर कोरोना समुदायमा भित्रभित्र फैलिएको छ । कोरोना पोजेटिभ देखिएर कुनै लक्षण नदेखिकन निको हुनेहरु तथा काेरोनाकाे कहर नभोगेकाहरुले कोरोना केही पनि होइन, डराउनु पर्दैन, यो सामान्य समस्या हो भनेर भ्रामक कुरा गर्दै आएका छन् । पोजेटिभ देखिएर स्वास्थ्यमा समस्या देखिएर गाह्रो भएकाहरुले भने कोरोनाभाइरसलाई सामान्य नठानौं भन्दै आएको पाइन्छ । कतिपयले चाहिँ कोरोना भाइरस विरुद्धको खोप निर्माण भइसकेको छ, खासै डराउनु पदैंन भन्ने तरिकाले सावधानी नअपनाइकन हिँडिरहेको समेत पाइन्छ ।

सरकारको प्राथमिकतामा कोरोना महामारी परेको छैन । सरकारले मास्कको प्रयोगलाई मात्रै अनिवार्य बनाइदिने, भिडभाड गर्न नदिने, अनुुगमन गर्ने, होमआइसोलेशनमा बसेकालाई निगरानीमा राख्ने हो भने संक्रमण घट्दै जान्छ । जनस्वास्थ्यका मापदण्ड आम सर्वसाधारणले आफू र परिवारको लागि भएपनि गम्भीर भएर पालना गर्नुको कुनै विकल्प छैन । परिवारको एक जना सदस्यले सावधानी नअपनाएको खण्डमा परिवारका अन्य सदस्य र नजिकका आफ्ना आफन्तलाई जीवरमरणको दोसाँधमा पुुर्‍याउने कारण हामी आफैं बन्न सक्छौ । त्यसैले कोरोनाभाइरस संक्रमणका बारेमा गम्भीर हुन र जनस्वास्थ्यका नियमहरु कठोरतापूर्वक पालना गर्न–गराउन हामी आफै सचेत बन्न, अरुलाई सचेत गराउन अग्रसर हुनु जरुरी छ । यो कुरा नभुलौं, अहिले संक्रमण टोलटोलमा घरघरमा पुुगेको अवस्था छ । यस्तो अवस्थामा सभा सम्मेलन, प्रर्दशनहरुमा सहभागी हुने मुर्खता नगरौं ।

एक पटक पढ्नुहोस