गौतमलाई मरणोपरान्त पुरस्कार

काठमाडौँ — कान्तिपुर दैनिकका पत्रकार गोकर्ण गौतमलाई मरणोपरान्त यस वर्षको विजयबाबु स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
विजयबाबु खत्रीको नवौं स्मृति दिवसका अवसरमा राजधानीमा बुधबार आयोजित समारोहमा नेपाल समाचार केन्द्र प्रालिकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले दिवंगत पत्रकार गौतमकी श्रीमती सिर्जना तुलाधर गौतमलाई पुरस्कार हस्तान्तरण गरिन् ।

पुरस्कारमा ताम्रपत्र र ३४ हजार रुपैयाँ राशि छ । समारोहमा अध्यक्ष श्रेष्ठले निष्पक्ष पत्रकारितामा समर्पित गौतम नेपाली पत्रकारिता क्षेत्रका लागि सदा स्मरणीय रहने श्रेष्ठले बताइन् । टाउको दुख्ने समस्या रहेका ३१ वर्षीय गौतमको मस्तिष्कको नसाको शल्यक्रियाका क्रममा मंसिर ४ मा निधन भएको थियो ।

स्मृति पुरस्कार स्थापना गरिएका पत्रकार खत्रीको ३४ वर्षको उमेरमा विसं २०६८ मा सवारी दुर्घटनामा निधन भएको थियो । पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिल सदस्य संगीता खड्का र अनलाइन पत्रिका न्युज कारोबारका सम्पादक डीआर आचार्यलगायतको तीन सदस्यीय समितिले पुरस्कारका लागि गौतमको नाम छनोट गरेको थियो ।

एक पटक पढ्नुहोस