राजनीतिमा पावर, मनी-मसलको प्रयोगले जनतामा निराशा छायो : प्रकाशमान सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले २०४६ को परिवर्तनपछि मूल्य मान्यताको राजनीति अन्त भएको बताएका छन् । राजनीतिलाई सेवा भावले गरिनुपर्नेमा कमाउ पेसा बनेकोप्रति चिन्ता व्यक्त गर्दै अहिले मूल्य मान्यताभन्दा पनि पावर, मनी मसलको प्रयोग हुनु निकै दुखद भएको बताए । जसले जनतामा निराशा छाएको भन्दै यो निकै गम्भीर बिषय भएको सिंहको भनाइ छ ।
वर्तमान सरकार संविधान र संघीयताको मर्म विपरित हिँडेको समेत उनले बताए ।विहीबार काठमाडौं ३१ का नेपाली काँग्रेस इकाई अध्यक्ष उज्ज्वल कोइरालाको शोकसभामा नेता सिंहले सरकारको बोलाई र व्यवहार पनि संविधान र संघीयताको अनुकूल नभएको आरोप लगाए ।

संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई संघकै प्रशासनिक निकायको व्यवहार गरेकोमा उनको आपत्ति छ । सुशासन र समृद्धिको गफ दिएपनि सरकार त्यसको उल्टो बाटोमा हिँडेको बताउँदै जनता सरकारसँग निराश बनेको उनको भनाइ छ ।
प्रमुख प्रतिपक्षी दल काँग्रेसको भूमिकाबाट पनि जनता आश्वस्त बन्न नसकेको बताउँदै नेता सिंहले १३ औं महाधिवेशनपछि काँग्रेस कमजोर भएको टिप्पणी गरे । १४ औं महाधिवेशन स्वच्छ र निष्पक्ष हुनुपर्ने भन्दै नेता सिंहले इमान्दार र राजनीतिक धर्म नछाड्ने नेतृत्व पार्टीमा आवश्यक रहेकोमा जोड दिए ।

समयमै महाधिवेशन गर्दै काँग्रेसलाई भरपर्दो पार्टी बनाउनुपर्ने उनको भनाइ थियो । सिंहले लोकतान्त्रिक दल विधान बमोजिम नचलेको भन्दै विधानसम्मत चल्नुपर्छ भनेर आफूले भनिरहेको बताए ।

कार्यक्रम काँग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशी, काठमाडौं जिल्ला सभापति सबुज बानियाँ, क्षेत्रीय सभापति प्रकाश बिक्रम राणा, महासमिति सदस्य सुरज चन्द्र लामिछानेले स्व कोइरालाबारे चर्चा गरेका थिए ।

एक पटक पढ्नुहोस