नेपाल एयरलाइन्सको काठमाडौं–दिल्ली उडान पुनः सुरु हुँदै

काठमाडौं । नेपाल एयरलाइन्सको काठमाडौं–दिल्ली उडान पुनः शुरु हुने भएको छ । कोभिड–१९ का कारण गत चैतदेखि प्रभावित हुँदै आएको एयरलाइन्सको उडान केहीदिन भित्रै पुनः सञ्चालनमा आउने भएको हो ।
नेपालस्थित भारतीय राजदूतावासले दिल्ली–काठमाडौं नियमित निर्धारित उडान पुनः सुचारु गर्न दुई देश बीच ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ अनुमोदन गरिएको बिहीबार जनाएको छ ।

‘दुबै सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ अन्तर्गत दिल्ली र काठमाडौं बीच नियमित निर्धारित उडान पुनःसुरु गर्न अनुमोदन गरेको जानकारी गराउन पाउँदा खुशी लागेको छ । एयर इण्डिया र नेपाल एयरलाइन्सले यी दैनिक उडानहरु सञ्चालन गर्नेछन्’ दुतावासले ट्वीटरमार्फत भनेको छ ।
यता नेपाल एयरलाइन्सले भने नियमित हवाई उडान सम्बन्धि दुई देशबीच बबल सम्झौता भएपनि कहिलेबाट औपचारिक उडान शुरु हुन्छ सो भने एकिन भइनसकेको जनाएको छ ।

एयरलाइन्सका प्रवक्ता करिष्मा श्रेष्ठले पहिले देखिनै काठमाडौं–दिल्ली नियमित उडान भइरहेकोमा बीचमा कोभिड–१९ का कारण केही महिना रोकिएकोमा पुनः दुई देशबीच सहमति गरेर उडान सञ्चालन गर्न लागिएको बताइन् । दुई देश बीच हवाई उडान सम्बन्धी बबल सहमति भइसकेपनि कहिलेबाट नियमित उडान शुरु गर्ने भन्ने मिति भने एकिन भइनसकेको श्रेष्ठको बताइन् ।

योसँगै नियमित उडानका लागि नेपालबाट एक नेपाल एयरलाइन्सले र दिल्लीबाट एक एयर इण्डियाको जहाजले नियमित फ्लाइट गर्ने छ ।

एक पटक पढ्नुहोस