‘मेरो प्रस्तुति हेर्नुभयो भने पूर्व युवराज पनि खुसी हुनुहुन्छ’

पैसाको चलखेल भयो भने भन्न सक्दिनँ : भरतमणि पौडेल

मिडिया होस् या सामाजिक सञ्जाल यति बेला चर्चा भरतमणि पौडेलकै छ । कमेडी रियलिटी शो ‘कमेडी च्याम्पियन–२’ का का प्रतियोगी पौडेल आफ्ना दमदार प्रस्तुतिले दर्शक तथा निर्णायकका प्रिय बनेका हुन् । गोकुल बाँस्कोटाको क्यारिकेचर गरेर चर्चित बनेका पौडेल शनिबार पूर्व युवराज पारस शाहको नक्कल गर्दै उपाधिका नजिक पुग्न सफल भएका छन् । शनिबार उनी ‘पर्फमर अफ द राउण्ड’ हुँदै सिधै फाइनलमा पुगेका छन् । यही सन्दर्भमा पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश :

कमेडी च्याम्पियनको फाइनलमा पुग्न सफल हुनुभयो । कस्तो लागिरहेको छ ?

– एकदमै खुसी छु । फाइनलमा पुग्छु नै भन्ने लागेको थियो किनभने पूर्व युवराज पारस शाहको पात्रलाई एकदमै धेरै न्यायपूर्वक प्रस्तुत गरेको थिएँ । देशमा भइरहेको राजनीतिक अस्थिरता माथि तिखो व्यङ्ग्य समेत प्रहार गरेको थिएँ । मेरो प्रस्तुति आम जनसमुदाय, समाज, देशको परिवेशमा मिल्ने खालको र सबैले रुचाउने खालको प्रस्तुति भएको कारण म फाइनलमा पुग्छु भनेर ढुक्क थिएँ । ‘पर्फमर अफ द राउण्ड’ हुन्छु भन्नेमा पनि ढुक्क थिएँ ।

पूर्व युवराजको शाहको क्यारिकेचरले करियरमा थप उचाइ दिएको हो ?

– पक्कै पनि हो । मलाई लाग्छ पूर्व युवराजको आफ्नै किसिमको उचाइ छ । केही प्रतिशत मानिसको अझै पनि राजतन्त्र माथि आस्था रहेको छ । आस्था नभएकोले पनि उहाँलाई पूर्व युवराज, राजपरिवारको सदस्यको रूपमा सम्मान गरिरहनु भएकै छ । उहाँको क्यारिकेचर गर्न पाउँदा र गर्न सकेकोमा खुसी छु । कार्यक्रम प्रसारण भएपछि मलाई धेरै राजावादी संस्थाहरूले फोन गरेर बधाई समेत दिएका छन् । तपाईंले हाम्रो पूर्व युवराजको नक्कल गरेर एउटा हाँसोको पात्रको रूपमा मात्र नभएर व्यङ्ग्यको रूपमा अगाडि ल्याउनु भएको रहेछ । हामी एकदमै खुसी छौ भनेर भनेका छन् ।

पूर्व युवराज बन्ने सोच कसरी आयो ?

– पूर्व युवराजको क्यारिकेचर गर्ने सोच मेरो सिजन १ सुरु समयदेखिको प्लानिङ हो । स्वतन्त्र मानिस भएर कसरी बाँच्न सकिन्छ भन्ने एउटा उदाहरण हुन् पूर्व युवराज शाह । उहाँले जीवनमा के के गर्नुभयो, के के गर्नुपर्थ्यो व्यक्तिगत रूपमा म भन्न सक्दिनँ । सबैको आ–आफ्नो व्यक्तिगत जीवन हुन्छ । जसरी उहाँले आफ्नो जीवन जिउँदै आउनु भएको छ, त्यो एकदमै सरल छ । पूर्व युवराज भइसकेको व्यक्ति नेपाली जनताको माझमा सरल, सहज तरिकाले सडकमा गएर कुकुरहरूलाई बिस्कुट खुवाउनु हुन्छ । अप्ठ्यारो परेकालाई राहत दिनुहुन्छ । उहाँमा पूर्व युवराज भएको घमन्ड पनि छैन । मलाई राजा हुनु पनि छैन यतिकै ठिक छ भनेर सन्तुष्ट भएर हिँडेको भिडियो हामीले हेरिरहेका छौँ । उहाँ आफ्नो ढङ्गले स्वतन्त्र भएर हिँड्दै गर्दा खेरी उहाँको पछिल्लो समयको व्यक्तित्व मलाई निकै मन परेको हो । कहिले काहीँ उहाँको हाउभाउ आफैले नक्कल गर्न खोज्दा मिलेको जस्तो लाग्थ्यो । उहाँसँग मेरो सम्पर्क भेटघाट केही छैन । सर्वसाधारण उहाँलाई जसरी चिन्छन् । मैले पनि त्यसरी चिन्ने हो । मलाई उहाँ मनपरेपछि नक्कल गर्न कपाल पाल्न थाले । मैले कपाल पालेको पूर्व युवराज पारस शाह बन्नकै लागि हो । अब म यो कपाल चाहिँ काट्दिन होला ।

एक पटक पढ्नुहोस