‘रअ’को काउन्टर हो ‘सीएसआई’

देश भन्ने विषयसँग मेरो सानैदेखि लगाव रह्यो । देश समृद्ध भएन भने व्यक्ति समृद्ध हँुदैन भन्ने मेरो स्कुलिङ, चिन्तनको विषय हो । यो सही हो वा गलत, थाहा छैन तर मभित्र यसको छाप गहिरो छ । यसले मेरो समग्र विचारधारालाई परिभाषित गरिदियो । त्यही भएर मैले फिल्म ‘ग्रेटर नेपाल’ बनाएँ ।

‘दासढुङ्गा’ भन्ने फिल्म बनाउनु अघि मेरो मनमा एउटा देश राम्रो हुन नेता राम्रो चाहिन्छ, राम्रो नेता देशमा टिक्दैनन्, उनीहरुविरुद्ध विभिन्न षड्यन्त्र हुन्छ, मृत्युको मुखमा धकेलिन्छन् भन्ने विचार आयो र जन्मियो फिल्म ‘दासढुङ्गा’ ।

देशभित्र विद्रोह हुन्छ र देश बन्छ भन्ने मेरो बुझाइ पहिलेदेखिकै हो । विद्रोह दबाउने नाममा मानिसलाई अमानवीय व्यवहार गर्नु हँुदैन भन्नेमा म सचेत थिएँ । ‘ग्रेटर नेपाल’, ‘दासढुङ्गा’ होस् वा ‘वधशाला’ । मेरा तीनवटै फिल्ममा सेक्युरिटीको कुरो थियो । फिल्ममा मैले जहिल्यै पनि सुरक्षाको विषयलाई प्राथामिकता दिएँ । मेरो फिल्म अरू कुराले भन्दा पनि राजनीतिक कारणले हेर्ने हो ।

देशको चिन्ता बोकेको फिल्म ‘एक’

म बाल्यकालदेखि आफूलाई कमजोर ठान्थेँ । घरको एक्लो छोरा, दुब्लोपातलो थिएँ, सबैले हेप्थे । अरूको बीचमा सधैँ असुरक्षित महसुस गर्थें । त्यसैले सुरक्षा आवश्यक छ भन्ने मेरो दिलदिमागमा सानैदेखि बस्यो । आफूलाई सुरक्षा दिन नसके पनि त्यो कुण्ठाकै जगमा देश सुरक्षित गर्छु भन्नेतिर सोच बढ्यो । त्यसैको उपज हो अहिले रिलिजको तयारीमा रहेको फिल्म ‘एक’ ।

देश खतरामा छ, देशविरुद्ध षड्यन्त्र भइरहेको छ । कमजोर बनाएर यसको स्रोतसाधनमाथि हस्तक्षेप गर्ने कोसिस छिमेकीले गरेको छ भन्ने कुरा मभित्र बसेको छ ।

‘ग्रेटर नेपाल’ भनेर देशको सिमाना जोगाउनुपर्छ, इतिहासमा गुमेका भूभाग पनि फिर्ता लिनुपर्छ भन्ने सोच भएको मानिस हुँ म । मधेस टुक्र्याउनुपर्छ भन्ने नाराले राजनीतिक गतिविधि भयो । त्यो कुराले मलाई त्रास दियो । मधेस कुनै दिन छुट्टिन्छ, उनीहरू हिंसात्मक अभियानमा जान्छन्, त्यही कारणले देशमा अस्थिरता आउँछ भन्ने लाग्यो । राजनीतिज्ञ, शासक वर्ग यो विषयमा चिन्तित देखिएनन् ।

देश जोगाउन, विदेशी चलखेल र हिंसात्मक अभियानबाट बचाउन हामीलाई आर्मी र पुलिसले मात्र पुग्दैन । हामीलाई एउटा इन्टिलिजेन्स निकाय चाहिन्छ भन्ने सोच आयो । ‘सीएसआई’ भन्ने एउटा अर्गनाइजेसनको कल्पना गरेँ । मधेस विखण्डन गर्ने अभियान रोक्ने मिसनमा ‘सीएसआई’ लाई परिचालन गरेको कथावस्तु फिल्म ‘एक’मा प्रस्तुत गरेको छु ।

‘रअ’को काउन्टर ‘सीएसआई’

देशको नीति निर्माणमा जो छन्, तिनले फिल्म हेर्दैनन् । जो फिल्म हेर्छन्, उनीहरूको पहुँच नीति निर्माणमा छैन । हामी सबैले बुझेको विषय हो यो ।

व्यक्तिगत रूपमा भन्नुपर्दा म त्यस्तो फिल्म बनाउँछु, जस्तो म हेर्न चाहन्छु । मैले कल्पना गरेको जब पर्दामा स्थापित हुन्छ, त्यो मेरो एचिभमेन्ट हो । यो सम्बन्धित निकायले हेर्छ वा हेर्दैन, त्यो बजार व्यवस्थापनको पाटो हो । देशको चिन्ताको हिसाबले मैले ‘एक’ फिल्म निर्माण गरेँ । अब नीति, नियम बनाउने भएका मानिसको कानसम्म देशका लागि विशेष गुप्तचर निकाय रहनुपर्छ है भन्ने कुरो पु-याउनु छ । त्यसका लागि सबैभन्दा पहिले जनताको तहमा छलफल हुनुप¥यो । उनीहरूले छलफल गर्न थाले, घरघर कुरा हुन थाल्यो भने यो राज्यसँग पनि पुग्छ । राज्य जोगाउनुपर्यो भनेर पहिले जनतामा चेत खुल्नुपर्छ । देश खतरामा छ, यसका लागि के गर्ने भन्ने कुरो हामी माझ कहिल्यै उठेन । म सर्जक भएको हिसाबले कल्पनाका आधारमा देशको चिन्तालाई पस्किएँ । यो एउटा सर्जकको दायित्व पनि हो ।

भारतमा जसरी ‘रअ’ छ, त्यस्तै नेपालमा एउटा संस्था चाहिन्छ भनेर मैले फिल्ममा ‘सीएसआई’को कल्पना गरेको छु । बलिउडले ‘रअ’को योगदान र महत्त्वका बारेमा जसरी फिल्म बनाएको छ, फिल्म ‘एक’ले त्यस्तै प्रकारले नेपालमा ‘सीएसआई’को महत्त्व कल्पना गर्छ । हामी सलमान खान, अक्षयकुमारले अभिनय गरे भनेर ‘रअ’को विषयमा बनेको फिल्म हेरेर रमाउँछौँ । त्यही ‘रअ’ले नेपालभित्र विभिन्न क्षेत्रमा हस्तक्षेप गरेर नेपालमा अस्थिरता निम्त्याएको विषयमा हामी जानकार छैनौँ । नेपाली जनताले ‘रअ’को काउन्टरमा बनेको ‘सीएसआई’का विषयमा बनेको फिल्म हेर्नुपर्छ । ‘एक’ मनोरञ्जनको दृष्टिकोणबाट मात्र बनेको होइन । देशभित्र भइरहेको हस्तक्षेपको जानकारी दिने फिल्म हो । हाम्रो फिल्म हेर्ने दर्शकले यसतर्फ सोचेका छैनन् । हो, म त्यसको विरोधी हुँ ।

फिल्ममा देशको चिन्ता

राष्ट्रिय विषयमा बनेको फिल्मले हाम्रो देशमा जहिले पनि चर्चा र महत्त्व राख्छ भन्ने बुझाइ हो । यो हिसाबमा ‘ग्रेटर नेपाल’ सबैभन्दा सफल फिल्म हो । ‘दसगजा’, ‘दासढुङ्गा’, ‘वधशाला’ लगायत सबै राष्ट्रियताका विषय जोडिएका फिल्म हुन् ।

धेरै पहिले ‘बलिदान’ राष्ट्रियताको विषयमा बन्यो । तर यसलाई राष्ट्रियताको दृष्टिबाट हेरिएन । हुन त राष्ट्रियता दर्शकले बुझ्दैनन्, चासो दिँदैनन् भन्ने छ । त्यो हामीले फिल्म कतिको पावरफुल बनाएका छौँ, त्यसमा भर पर्छ ।

नेपालमा राष्ट्रियताको विषयमा निकै कम फिल्म बन्छन् । यसले राष्ट्रियताको विषयमा हामी चिन्तित र सचेत छैनौँ भन्ने देखाउँछ । मेरो बुझाइ देशको स्थायित्व, सुरक्षाले हरेक नागरिकको जीवनमा महत्त्व राख्छ । म स्वतन्त्र भएर बाँच्ने हो भने मैले मेरो देश स्वतन्त्र र समृद्ध बनाएर बाँच्नुपर्छ भन्ने हो । मेरा हरेक फिल्मले केही न केही कोणबाट देशलाई समृद्ध बनाउन योगदान दिन्छ ।

‘एक’ नै किन बन्यो ?

पहिलेको तराईलाई अहिले मधेस भनिन्छ । मधेस भन्ने शब्दले ममा एक किसिमको डर, त्रास सिर्जना भयो । पछिल्लो समय मधेससँग जोडेर विभिन्न कुरासमेत आएका छन् । त्यो विषयमा हामी नेपालीले सोच्नुपर्ने बेला भएको छ । अहिले मधेसमा त्रास गाँसिएको छ । त्यो विषयमा तराईका मानिसले पनि सोच्ने बेला आएको छ । मधेसले बनाएको त्रास बाहिर ल्याउने कोसिसको कथामा बनेको फिल्म हो ‘एक’ ।

मधेसका जनताका मुद्दा जहिले पनि केन्द्रले बेवास्ता गरेको छ । त्यसको व्यवस्थापन गर्ने हिसाबले मधेस अर्काे हिंसात्मक गतिविधिमा गयो भने के होला ? त्यसको डर मलाई छ । मधेसलाई त्यतातिर धकेल्न अहिले उनीहरूको राजनीतिक मुद्दा ओझेलमा पार्ने षड्यन्त्र भइरहेको छ । यो विषयमा सम्बन्धित निकायको ध्यान गएको छैन । हाम्रो पुस्ता जिम्मेवार हुनुपर्छ, सोच्नुपर्छ भन्ने मेरो ‘एक’ले फिल्मले सन्देश दिन्छ ।

‘एक’ देशमा भएको एउटा षडयन्त्रका विषयको फिल्म हो । देशमा यस्ता षड्यन्त्र धेरै देखेको छु । ती सबैमा फिल्म बनाउन चाहन्छु । विदेशीले आफ्नो स्वार्थका लागि देशलाई कसरी खेल मैदान बनाएका छन्, त्यसलाई फिल्ममार्फत एक्सपोज गर्न चाहन्छु ।

त्यसैले डिजिटल रिलिज

फिल्म ‘एक’ म डिजिटल रिलिज गर्दैछु । किन डिजिटल रिलिज ? प्रश्न उठ्न सक्छ । डिजिटल प्रविधिले हामी धेरै अगाडि बढिसकेका छौँ । हाम्रो हातहातमा मोबाइल छ । घरघरमा इन्टरनेट र केबल पुगेका छन् । घरमै बसेर हेर्न मिल्ने विभिन्न प्रविधि भित्रिएको छ । प्रविधिले दिएको यो सुविधासँग हामी डराउने हो कि होइन भन्ने प्रश्न हो ।

मलाई चिन्ता देशको छ । अन्य कुराको त्यति इच्छा राख्दिनँ । अहिलेको युगमा प्रविधिले दिएको सुविधा प्रयोग गर्नुपर्छ भन्ने हो । चलचित्र घरमा बसेरमात्र फिल्म हेर्नुपर्छ भन्ने आइडोलोजीको पक्षमा म छैन । दर्शक स्वतन्त्र हुनुपर्छ भन्ने लाग्छ । फिल्म सबै मानिसको हातहातमा पुगोस् भनेर डिजिटल रिलिज गर्न लागेको हो ।

कहिले रिलिज ?

‘एक’ घटस्थापनाको अवसर पारेर २१ असोजबाट रिलिज हुँदैछ । फिल्म डिजिटल प्लेटफर्म सिनेमाघर एप्लिकेसन, डिस होम, नेट टीभी, भाए टीभी, म्याक्स टीभी र ओहो मुभिजमा सःशुल्क हेर्न सकिनेछ । फिल्ममा विशाल पोखरेल, ज्योत्सना योगी, प्रमोद अग्रहरीलगायत मुख्य भूमिकामा छन् । आत्मा गुरागाईं र सोफी थापाको निर्माण रहेको फिल्ममा दीपक वज्राचार्यको छायाङ्कन, भरतमणि रेग्मीको सम्पादन र प्रमोद खड्काको द्वन्द्व छ । फिल्ममा सवीर चुरौते, प्रमोद खड्का, विश्वान्त पोखरेल, मदन ठाकुर, सुरेश शाह, रामशरण पाठक, हरोण अलीको पनि अभिनय देख्न सकिन्छ ।

एक पटक पढ्नुहोस