जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको निर्वाचन प्रणाली गलत भएको बताएका छन् । जसपा रुपन्देही क्षेत्र नम्बर १ ले सोमबार रोहिणी गाउँपालिका–३, धकधईमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले अहिलेको निर्वाचन प्रणाली खिचडीजस्तो र अत्यन्तै महँगो भएको बताए ।
खर्चिलो निर्वाचन प्रणालीका कारण आम जनतालाई निर्वाचनमा उम्मेदवार बन्न समस्या रहेको उनको भनाइ छ । उनले भने, ‘अहिलेको निर्वाचन प्रणालीले नेपालजस्तो गरीब मुलुकमा पैसावाला, माफिया, ठेकेदारको प्रतिनिधित्व हुन्छ, जनतालाई केवल भोटर मात्र बनाइएको छ ।’
उनले अहिलेको संसदीय प्रणाली असफल भइरहेको समेत बताए । सांसद खरिदबिक्री भइरहनुमा नेताभन्दा पनि प्रणालीको दोष रहेको उनको भनाइ छ । न्याय प्रक्रिया पनि खर्चिलो भएको भन्दै उनले न्याय प्रणालीमा सुधार गर्नुपर्ने खाँचो औंल्याए ।
उनले ठूला दल नेपाली काँग्रेस र कम्युनिष्ट पार्टी मिलेर मुलुकमा त्रुटिपूर्ण संविधान बनाएको आरोप लगाउँदै त्यस्ता त्रुटीलाई संशोधनमार्फत सच्याउनुपर्ने बताए । संघीयता विरोधीले नै संविधान बनाएकाले संविधान संशोधन अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।
