After header

गुप्सीपाखा सरेनन् लाप्राकवासी

गोरखा — मध्य हिउँदमा हिउँले बस्ती ढाकेपछि धार्चे–४ लाप्राकस्थित गुप्सीपाखाकी ६५ वर्षीय धनमाया गुरुङले तिर्खा मेटाउन हिउँ पगालेर खाइन् । तीन फिटसम्म जमेको हिउँ छिचोल्दै आधा घण्टा दूरीमा रहेको रिन्जुलिङको धारामा पुग्नु उनका लागि सहज थिएन ।

‘जताततै हिउँ, यताउति गर्न पाइला सार्नै नसक्ने । नजिकका घरमा मान्छे छैनन्, बोली मिसाउने पनि कोही भएनन्,’ उनले ती दिन सम्झिइन्, ‘धारामा हेर्‍यो पानी झर्दैन । हिउँ पगाल्यो, खायो । आगो ताप्यो अनि घरभित्रै बस्यो ।’ गत जेठमा पुरानो घर छाडेर गुप्सीपाखा बस्तीमा सरेदेखि नै उनको दैनिकी चैनले बितेको छैन । खानेपानीदेखि खाद्यान्नसम्मको अभाव टार्न संघर्षमै दिन बिताएको उनले सुनाइन् ।

५ सय ७३ घरधुरी रहेको सामूहिक बस्ती गुप्सीपाखामा ६० घरमा मात्र भूकम्पपीडित सरेका छन् । अधिकांश घरको आँगनमा झार उम्रिएको छ । बस्ती हस्तान्तरण भएको एक वर्ष हुनै लाग्दा अझै सयभन्दा बढी घर पूर्ण रूपमा तयार भइसकेका छैनन् । बस्तीमा खानेपानीको चरम अभाव छ । बिजुलीबत्ती पुगेको छैन । बस्ती पुग्ने स्थानीयदेखि केन्द्रीय नेतासँग गुप्सीपाखावासीले एउटै माग राख्दै आएका छन्– खानेपानी सुविधा । गत शुक्रबार लाप्राक पुगेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमक्ष पनि उनीहरूले खानेपानीको व्यवस्था गरिदिन माग गरे ।

गत आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल पनि पुगेका थिए । मुख्यमन्त्रीसँग पनि उनीहरूले त्यही माग दोहोर्‍याए । पानी, बिजुलीको सुविधा नहुनु र ३ आना क्षेत्रफलमा बनेको घर साँघुरो हुँदा गुजारा चलाउनै मुस्किल परेको स्थानीय सुकमाया गुरुङले गुनासो गरिन् । ‘पानी नभएको बस्तीमा सरेपछि दुःख पाइयो,’ उनले भनिन्, ‘एक गाग्री पानी लिन एक घण्टा लगाएर रिन्जुलिङ पुग्नुपर्छ ।’ उनका अनुसार धेरै भूकम्पपीडित पानी नभएकै कारण गुप्सीपाखा आउन मानिरहेका छैनन् । ‘यति धेरै घर छन् तर पानी छैन, काकाकुल जस्तै भइयो,’ उनले भनिन् ।

गुप्सीपाखामा एकीकृत बस्ती निर्माण गरिँदा खानेपानी आयोजनाका बारेमा नसोचिएको भने होइन । बस्तीका घरघरै धारामा पानी झरेपछि २०७७ कात्तिक २० मा धुमधामका साथ खानेपानी आयोजनाको उद्घाटन पनि गरिएको थियो । तर, ३ महिनामै पानी आपूर्ति ठप्प भएको हो । गुप्सीपाखाबाट १९ किलोमिटर पर भोलेमेचेत खोलाबाट ल्याइएको खानेपानी पाइपलाइन ठाउँ–ठाउँमा चिरिएको छ । पाइपलाइन मर्मत नहुँदा पानी आपूर्ति हुन नसकेको हो ।

चारकोठे घर बस्नका लागि पनि साँघुरो भएको सुकमायाले गुनासो गरिन् । ‘परिवार धेरै भएकालाई कोठै पुग्दैन,’ उनले भनिन्, ‘एनआरएनएले घर मात्र बनाइदियो, फिनिसिङ आफैं गरेका हौं । छोराछोरी ठूला भएपछि कोठा छुट्टै खोज्दा रहेछन् । सानो कोठा भएकाले नयाँ घरमा सरेर पनि बस्न सकस छ ।’ नयाँ घरमा बस्तुभाउ पाल्ने ठाउँसम्म नहुँदा दिनभर फुर्सदिलो बस्नुपरेको बस्तीमा सरिसकेकाको अनुभव छ । केही स्थानीय आधा सामान गुप्सीपाखाको घरमा र आधा पुरानै घरमा राखेर फुर्सदको समयमा लेकबेंसी गर्दै जीविका धानिरहेका छन् । चिसो ठाउँ भएकाले गुप्सीपाखाको घर आलु भण्डारणमा भने प्रयोगमा आएको छ ।

गैरआवासीय नेपाली संघले निर्माण गरेको बस्ती २०७८ वैशाख ९ मा भूकम्पपीडितलाई हस्तान्तरण गरिएको थियो । बस्ती निर्माण पूरा नहुँदै हस्तान्तरण गरिएको बताउँछन्, स्थानीय मारसिंह गुरुङ । ‘संस्थाको आस गरेर मात्र पनि नहुने रहेछ । आँगन र भित्री फिनिसिङको काम हामी आफैंले गरेका हौं,’ उनले भने, ‘ढल, नाला, बिजुली बत्ती सबै भएपछि बस्ती हस्तान्तरण भएको भए राम्रो हुन्थ्यो । त्यो बेला ठेकेदारले पनि हाम्रो कुरा सुनेनन् । एनआरएनएभित्र पनि विवाद रहेछ, चाँडो हस्तान्तरण गर्न खोजे ।’

एक पटक पढ्नुहोस