After header

पाँच दलीय गठबन्धन एक ठाउँमा खडा हुन्छ : सञ्चारमन्त्री कार्की

काठमाडौँ — सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन एक ठाउँमा खडा हुने बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री कार्कीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धन एक भएर खडा हुने बताए ।

उनले सत्ता गठबन्धनले अहिले सैद्धान्तिकरुपमा केन्द्रबाट चुनावी तालमेल गर्ने निर्णय गरेको र त्यसका लागि प्रदेश, जिल्ला र स्थानीय तहसम्मै पाँच दलीय संयन्त्र निर्माण गरेर तत्कालै त्यहाँको अवस्थाबारे केन्द्रमा प्रतिवेदन बुझाउन निर्देशन गरेको जानकारी दिए ।

‘अहिले हामीले कहाँ‚ कस्तो अवस्था छ भनेर जान्नका लागि संयन्त्र बनाएका छौँ, त्यसले प्रतिवेदन बुझाएपछि यथार्थ कुरा, तथ्य कुरा थाहा हुन्छ,’ उनले भने, ‘त्यसपछि बाँकी निर्णयहरू गर्दै जानेछौँ ।’

गठबन्धनको नेतृत्वमा रहेको दल नेपाली का‌ंग्रेसले मंगलबारमात्रै केन्द्रीय समितिबाट स्थानीय तहकाे आवश्यकता र अवस्थाअनुसार चुनावी तालमेल गर्ने निर्णय गरेको थियो ।

मन्त्री कार्कीले स्थानीय चुनावमा पनि पाँच दलीय गठबन्धनले राष्ट्रिय सभा सदस्यको निर्वाचनमै जस्तै एकजुट भएर खडा हुने बताए । ‘हामीले जसरी राष्ट्रियसभामा चुनाव लड्यौँ, त्यसरी नै पाँच दलीय गठबन्धन एक ठाउँमा उभिएर चुनाव लड्ने निर्णय गरेका छौँ,’ उनले भने । उनले मुलुकभरको अवस्थाबारे जानकारी लिएपछि कहाँ कसरी तालमेल गर्ने भनेर निर्णयमा पुग्ने बताए ।

एक पटक पढ्नुहोस