कविता : एक सामान्य मतदाताको बिलौना
भूपिन खड्का
नेताजी !
हप्काएर र धम्काएर पैसा माग्नेलाई
‘टोले गुण्डा’ भन्छन् हाम्रो बस्तीमा ।
राजनीति खासै नबुझ्ने मलाई
थाहा छैन
चुनावमा यसरी भोट माग्नेलाई के भन्छन् ?
मलाई यसरी नहप्काऊ/ नधम्काऊ
यति नाजुक छु कि म
तिम्रो चर्को डाँकोले तर्सिएर
मैले मतपेटिकामा मुतिदिन पनि सक्छु
जीवनभरि कसैको हारको कामना नगरेको म
आज कामना गर्दै छु-
तिमी हार
सधैँ जनता र लोकतन्त्रलाई हराएर
तिमीले जित्नु भन्दा खतरनाक ‘दुर्घटना’
जीवनमा अर्को कुनै छैन….!