लघुकथा : आयो राजीनामा ! 

लघुकथा/

               – गोपाल प्रसाद थपलिया

 

” सुरेश सरका कारण मैले मात्र होइन धेरै विद्यार्थीहरूले हाम्रो विद्यालय छोड्दैछन् !”

शर्मिलाले सुमित्रा दिदीलाई भनिन् ।

“किन र शर्मिला!? “सुमित्राले भनिन् ।

” उहाँ कक्षामा प्रवेश गर्न साथ अहिलेको सरकारले केही राम्रो गरेन र गर्दैन पनि ! मैले समर्थन गरेको पार्टी सत्तामा पुग्यो भने राम्रो काम गर्छ ! त्यसैले तिमी बिद्यार्थीहरूले मेरो पार्टीको बिद्यार्थी संगठनको सदस्य बन्नु पर्छ र यो सरकारको विरूध्द जुलुसमा हिड्नु पर्छ भन्नु हुन्छ ! उहाँको पढाउने बिषय साइन्स हो तर कहिलेकाहीं मात्र पढाउनु हुन्छ !अनि त!”शर्मिलाले भनिन् ।

“अरू शिक्षक नि ?!” सुमित्राले सोधिन।

देवी सर,रोहित सर र सरला मेडम बाहेक अरू बाँकी शिक्षकहरू पनि सुरेश सरले जे जे भन्यो त्यही मान्छन्! हाम्रो स्कूलको पढाई त चौपट छ ! “शर्मिलाले भनिन् ।

“सरला मेडेम,देबी र रोहित सर चाहि के गर्नु हुन्छ र तिमीलाई मन पर्छ ?!” उहाँहरू आफ्नो बिषयामा दक्ष हुनुहुन्छ ! विद्यार्थीहरूलाई बुझाएर पढाउन परिश्रम र मेहनत गर्नु हुन्छ ! सबै भन्दा ठूलो कुरा उहाँहरू विद्यार्थीहरूलाई पढाउन समर्पित हुनुहुन्छ ! होमवर्क दिनु हुन्छ र विद्यार्थीहरूले राम्ररी गरे गरेनन् सबै हेर्नु हुन्छ ! विद्यार्थीहरूलाई स्वावलम्वी बनाउने कुरामा र नैतिक शिक्षामा जोड दिनु हुन्छ !उहाँहरू र सुरेश सर बीच कहिले काही डिस्कस् ( बादविवाद) पर्छ ! सुरेश सरलाई सरला मेडमले एक पटक त – “तपाईहरू सरकारी तलब खाएर पढाउन छोडेर पार्टीको राजनीति गर्न नैतिकताले पनि मिल्दैन ! राजनीति गर्ने हो भने तपाईंहरूले शिक्षक पदबाट राजीनामा दिनु होस् मैदानमा उत्रिनु होस् ! यसरी तपाईंहरूका कारण हजारौ विद्यार्थीहरूको भविष्य अन्धकार नपारिदिनु होस् भनी दिनु भयो ! “शर्मिलाले भनिन्।

“मैले तिम्रो कुरा बुझें ! अभिभावक दिवस् सम्म पर्ख ! साथीहरूलाई पनि स्कूल नछोड भन!” दिदी सुमित्राले भनिन् !

केही दिन पछि स्कूलको अभिभावक दिवस ! अभिभावकहरूको विशाल जमघट ! कार्यक्रम सुरू हुन्छ ! सबै जसो बक्ताहरूले “राजनीति र शिक्षकको भूमिका” कै बिषयमा आआफ्नो भनाईहरू राख्छन् !अब पालो सुमित्राको! सुमित्रा गाउँभरकी विशेष अगुवा महिला हुन् !

“अन्धकारबाट उज्यातिर बाटो देखाउने-, शिक्षक हो ! शिक्षकलाई शैक्षिक अभिभावक पनि भनिन्छ ।विद्या दान गर्नेलाई गुरू भनिन्छ! पारिश्रमिक लिएर पाठ्यक्रम अनुसार पढाउनेलाई आजकल शिक्षक भनिन्छ ! शिक्षकहरूलाई समाजका ऐना पनि भनिन्छ ! उहाँहरूले कुन राजनीति खराब हो कुन असल हो भन्ने ज्ञान दिन सक्छन् ! देश र समाजलाई फाइदा हुने सबै कुराहरू सिकाउँछन् ! तर कुनै पनि तलबी शिक्षकले कुनै पनि राजनीति पार्टीको झण्डा बोकेर राजनीति गरेर हिड्न मिल्दैन ! यो अनैतिक कार्य हो ! शिक्षकहरू आदर्श र व्यवहारका एकै सिक्काका दुई पाटा हुन्! शिक्षकहरूले विद्यार्थीहरूलाई भौतिक र बौध्दिक दुबै विषयमा पारगत बाउँछन् !तर यो स्कूलका रमेश सर लगायत अन्य केही सरहरू जो पार्टीको राजनीतिमा सक्रिय हुनुहुन्छ र आफ्नो नैतिक कर्तब्य भुल्नु भएको छ ! उहाँहरू साँचै नैतिकवान हुनुहुन्छ भने अहिले यसै बखत शिक्षक पदबाट राजीनामा गर्नै पर्छ ! होइन भने हामी उहाँहरूमाथि कार्यवाहीको प्रकृया अहिले देखिनै शुरू गर्छौं !” सुमित्राले यसो भनिरहँदा उपस्थित सबैबाट तालीको गडगडाहट बजिरहेकै बेला “मैले नैतिकता बुझेको छु ! यो मेरो राजीनाम !”सुरेश सरको ठूलो आवाज सबै तिर गुन्जयमान भयो !

२०७९ साल वैशाख २३गते शुक्रबार दिउँसो १२.३० बजे, उपचार कक्षबाट

एक पटक पढ्नुहोस