काभ्रे/ काभ्रेको रोशी गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । रोशी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिनेश लामा विजयी भएका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रका मिमबहादुर वाइवा (ज्वाला) विजयी भएका छन् । रोशी गाउँपालिकामा एमालेका उम्मेदवार देवसागर लामालाई १ हजार १ सय ७६ मत बढी प्राप्त गरी पराजित गरेका छन् ।
अध्यक्षमा नेपाली कांग्रेसका उम्मदेवार लामाले ७ हजार ५ सय ३४ मत ल्याएका छन् भने उहाँका प्रतिस्पर्धी एमालेका देवसागर लामाले ६ हजार ३ सय ५८ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा माओवादीका वाइवाले ६ हजार ६ सय ७२ मत ल्याएका छन् भने उहाँका प्रतिस्पर्धी एमालेका बबिता बोहोराले ५ हजार ९ सय ४३ मत ल्याएका छन् । त्यसै गरी रोशी १२ वटा वडा रहेकोमा नेपाली कांग्रेसले ५ वटा वडा जितेको छ भने एमालेले ५ वटा र माओवादीले १ जितेको छ ।
रोशी ८ नं.वडामा विवाद भएपछि ८ को निर्वाचन आयोग पठाईएको छ । जसमा रोशी १ मा नेकपा एमालेका श्रीदास लामा, २ मा काग्रेसका हस्तमान लामा, ३ मा एमालेका धनजित लामा, ४ मा एमालेका तेजबहादुर मगर, ५ मा एमालेका, निरध्वज लामा, ६ मा काग्रेसका नारायण बहादुर शिवाकोटी, ७ मा माओवादीका अशोक कुमार गौतम, ९ मा एमालेलेका जनम तामाङ, १० मा काग्रेस, बिकेन लामा, ११ मा काग्रेसका लालकुमार पाख्रीन र रोशी १२ मा काग्रेसका बसन्त लामाले वडा अध्यक्ष जितेका छन् ।
