काभ्रे /जलविद्युतको प्रयोग गरी नेपालमा एमोनिया उत्पादनबारे अध्ययन गर्न नेपाल विद्युत प्राधिकरणले काठमाडौं विश्वविद्यालय (केयू) लाई ३ करोड अनुदान उपलव्ध गराएको छ । शुक्रवार आयोजित कार्यक्रममा केयूका उपकुलपति भोला थापा र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता अनुसार, एमोनिया उत्पादनको सन्दर्भमा केयूले विस्तृत परियोजना प्रतिवदन तयार गर्नेछ । अनुदान रकमबाट दक्ष जनशक्ति तयार गर्नको लागि स्नातकोत्तर र विद्यावारिधी तहका कार्यक्रमहरु सञ्चालन हुनेछन् । समझदारी अनुसार हाइड्रोजन प्रविधिको प्रयोग गरी ग्रिडको गुणस्तर र विश्वसनीयता सुधार गर्न, हिउ“द मौसममा ऊर्जा भण्डारण लगायतका बिषयमा सहकार्य हुनेछ ।
उपकुलपति भोला थापाले नेपालमा जलविद्युतको अधिकतम उपयोग गर्न शैक्षिक क्षेत्रले समेत योगदान पु¥याउन सक्ने भन्दै अध्ययन, अनुसन्धान र प्राविधिक जनशक्तिको लागि केयू सहयोग गर्न तयार भएको बताउनुभयो । प्राधिकरणका प्रबन्ध कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल हरित ऊर्जा प्रणालीमा जान हरित हाइड्रोजन उपयुक्त माध्यम हुनसक्ने तर्क गर्नुभयो ।
स्कुल अफ इन्जिनियरिङका डीन मनिष पोखरेलले प्राधिकरणको संलग्नताले नेपालमा हरित हाइड्रोजन प्रविधि प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो । केयूको ग्रीन हाइड्रोजन ल्याबका प्रमुख विराजसिंह थापा केयूले पहिले नै नेपालमा हरित हाइड्रोजन प्रविधिको अनुसन्धान र कार्यान्वयनमा संलग्न भएको भन्दै सन् २०३५ सम्ममा नेपालले विश्वकै सस्तो हरित हाइड्रोजन उत्पादन गर्न सक्ने दाबी गर्नुभयो ।
केयूका प्राज्ञिक–औद्योगिक संयोजक राम लामाले सम्झौताले हाइड्रोजन प्रविधिमा स्नातकोत्तर र विद्यावारिधीसहितको मानव संसाधन र विशेषज्ञ उत्पादन हुने भन्दै अध्ययनको निष्कर्षलाई सरकारले अनुशरण गरे नेपाल एमोनियामा आत्मनिर्भर हुने विश्वास व्यक्त गर्नुभयो ।
