कविता:
– जनार्जन पौडेल (आभाष)
हे ! सरकार
न त म तेरो
समृद्धि अभियानको विरोधी हुँ
न त
यो देशमा
सवैलाई चाहिएको समृद्धि नचाहिने मान्छे
तर
मात्र यति भन्न चाहन्छु
तेरो समृद्धि
अहिले
सपनामा मात्र सिमीत छ,
नारामा मात्र सिमित छ ,
पोष्टर,पम्प्लेट
अनि
होडिङ बोर्डमा मात्र सिमीत छ
हे ! सरकार
तँ जे सुकै भन्
म
तेरो समृद्धिलाई
समृद्ध भन्न सक्तिन
म कदापि भन्न सक्तिन
मलाई माफ गर
किनकी
यो देशमा
समृद्धि ल्याउन
ठूल ठूला पानी जहाज र रेलले मात्र सक्दैन
हे ! सरकार,
जुन दिन
आरएनएसीको अगाडी
गाडी चढ्न मानिसहरु ठेलमठेल गर्दै कुदेको देखिन्न
हो !
त्यो दिन मात्र यो देश समृद्ध भएको मान्नेछु
जुन दिन
लाइसेन्स नविकरण गर्न जादा
यातायात कार्यालयले
आधा घन्टामा नविकरण गरेर कार्ड दिएर पठाउछ
हो !
त्यो दिन मात्र यो देश समृद्ध भएको मान्नेछु
जुन दिन
अस्पतालको विल तिर्न नसकेर
एउटा विरामीले अस्पतालको छतमा
झुण्डेर मर्न छाड्नेछन्
हो !
त्यो दिन मात्र यो देश समृद्ध भएको मान्नेछु
जुन दिन
एउटी चेली मध्यरातमा स्वतन्त्र हिंडडुल गर्न सक्छिन्
हो !
त्यो दिन मात्र यो देश समृद्ध भएको मान्नेछु
जुन दिन
एउटी विधवाले बोक्सीको आरोप खेप्नु पर्ने छैन
हो !
त्यो दिन मात्र यो देश समृद्ध भएको मान्नेछु
जुन दिन
एउटी आमाले आफ्नो सन्तानको काखमा अन्तिम साश लिन पाउनेछिन्
हो !
त्यो दिन मात्र यो देश समृद्ध भएको मान्नेछु
जुन दिन
एउटी चेलीले
कलेज फि
तिर्नका लागि रत्नपार्कको आकाशेपुलमाथि उभिनु पर्ने छैन
जुन दिन
एउटा बावुले आफ्नो छोराको लासको बाकस बुझ्नुपर्ने छैन
जुन दिन
मेरी भाउजुले दाजुसंग रमाउन चालीस कुर्नु पर्ने छैन
जुन दिन
एउटा दलितले पनि अरु सरह मन्दिर प्रवेश पाउँनेछन्
जुन दिन
मजदुरवर्गको अनुहारमा खुशीका किरणहरु देखिनेछन्
हो !
त्यो दिन यो देश समृद्ध भएको मान्नेछु
जुन दिन
किसान र हलियाहरु आफ्नै जमिनमा खेती गर्न पाउछन्
हो !
त्यहि दिन यो देश समृद्ध भएको मान्नेछु
हे ! सरकार
म तेरो समृद्धि अभियानको बिरोधी हुँदै होइन
कदापी हुँदै होईन
एकचोटि
कुर्सी मोह त्यागेर
आमाको मुहार हेर
ती परेलीका डिलबाट
करोडौं
सगरमाथा पग्लिएर बगिरहेछन्
लेखक जनार्जन पौडेल (आभाष) विगत डेढ दशक देखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।
