जिल्ला समन्वय समिति काभ्रेको निर्वाचन

गठबन्धनको तर्फबाट दिपक र एमालेबाट कमला भट्टराइ भिड्दै

धुलिखेल/ जिल्ला समन्वय समिति काभ्रेको निर्वाचन गठबन्धनतर्फका दल र नेकपा एमाले भिड्ने भएका छन् । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) ले जिल्ला समन्वय समितिको निर्वाचनमा पनि गठबन्धन कायम नै राखेका हुन् ।

नौ सदस्यीय समितिमा एकिकृत समाजवादीले प्रमुख, कांग्रेसले उपप्रमुखसहित ५ सदस्य र नेकपा (माओवादी केन्द्र) ले ३ सदस्य पाउने सहमति बनेको थियो । असार १ गते मतदान तोकिएको छ ।

गठबन्धनको तर्फबाट प्रमुखमा एकिकृत समाजवादीका दिपक कुमार गौतम, उपप्रमुखमा कांग्रेसका रिमबहादुर तामाङ र सदस्यमा कांग्रेसबाट मंगलबहादुर तामाङ, निरबहादुर लामा, चण्डिका मिजार र अप्सरा सिपखान, माओवादी केन्द्रबाट कमलराज गिरी, कृष्णकुमारी राई र रस्मिता भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेले प्रमुखमा कमला भट्टराई र उपप्रमुखमा राजेन्द्र केसीलाई उम्मेदवार बनाएको छ । सदस्यहरुमा प्रमिला विक कामी, रोजिना तामाङ, रुपा प्याकुरेल धिताल, मन मिजार र गोपिबहादुर श्रेष्ठ, सागर मानन्धर र प्रकाश बञ्जारा छन् ।

गठबन्धनबाट प्रमुख पदका उम्मेदवार गौतम विद्यार्थी राजनीतिबाट उदाएका हुन् । कक्षा ८ पढ्दै एमाले निकट अनेरास्वियुको प्रारम्भिक कमिटी अध्यक्ष हुदै राजनीतिमा प्रवेश गरेका गौतम इलाका, क्षेत्र हुदै २ कार्यकाल जिल्ला कमिटी अध्यक्ष भएका थिए । अनेरास्वियुको वाग्मती अञ्चल प्रमुख, २ पटक केन्द्रीय सदस्य, केन्द्रीय कोषाध्यक्ष हुदै केन्द्रीय उपाध्यक्ष भएका थिए ।

अनेरास्वियुको अध्यक्षमा भने उनी काभ्रकै नविना लामासंग पराजित भएका थिए । एमालेको ३ कार्यकाल जिल्ला कमिटी सदस्य रहेका उनी पार्टी फुटपछि एकिकृत समाजवादीमा लागेका थिए । पार्टीको जिल्ला सचिव र प्रचार विभाग प्रमुख रहेका उनी केन्द्रीय परिषद् सदस्य समेत हुन् ।

गठबन्धनको तर्फबाट उपप्रमुखका उम्मेदवार तामाङ कांग्रेसका पुराना नेता हुन् । २०५२ सालदेखि पार्टीमा सकृय उनी १० औं र ११ औं महाधिवेशनमा साविक सिपाली चिलाउने गाविसको इकाई सभापति निर्वाचित भएका थिए । २०५८ मा पार्टीको क्षेत्र न १ को सदस्य रहेका उनी नेपाल तामाङ संघ काभ्र्रेको संस्थापक सभापति हुन् । हाल कांग्रेसको वाग्मती प्रदेश प्रतिनिधी रहेका उनी प्रदेश सभा क्षेत्र नं १ का सदस्य समेत हुन् ।

एमालेबाट प्रमुख पदका उम्मेदवार भट्टराई एमालेको धुलिखेल नगर इञ्चार्ज हुन् । पार्टी निकट अखिल नेपाल महिला संघको निवर्तमान अध्यक्ष रहेकी उनी धुलिखेल–१२ मा वडा सदस्य निर्वाचित भएकी थिइन् ।

उपप्रमुख पदका उम्मेदवार केसी एमालेका जिल्ला सचिवालय सदस्य हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनौती–८ मा राप्रपाबाट अध्यक्ष पदमा उम्मेदवार बनेका राप्रपाका जिल्ला सचिव केसी सोही साल भएको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा एमालेलाई समर्थन गर्दै प्रवेश गरेका थिए ।

काभ्रेका १३ स्थानीय पालिका २६ पद मध्ये १३ पदमा कांग्रेस, माओवादी केन्द्र ८, एमाले ४ र एकिकृत समाजवादी एक पदमा निर्वाचित भएका थिए ।

एक पटक पढ्नुहोस