After header

महिला संघ नमोबुद्धले गर्यो जनप्रतिनिधी सम्मान

भकुण्डेवेशी/  नेपाल महिला संघ नमोबुद्ध नगर कार्यसमितिले स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधीलाई सम्मान गरेको छ ।

शनिवार भकुण्डेवेशीमा आयोजित कार्यक्रममा नगरप्रमुख कुन्साङ लामा, वडाअध्यक्ष, कार्यपालिका सदस्य, सदस्यहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको हो । संविधान सभा सदस्य समेत रहेका कांग्रेस काभ्रेका सभापति तिर्थ लामाले उनीहरुलाई सम्मानसहित बधाई ज्ञापन गरेका हुन् ।

कार्यक्रममा बोल्दै जिल्ला सभापति लामाले संगठनको बलमा कांग्रेसले विजयी हासिल गरेको भन्दै नगर सभापति कुन्साङ लामासहित सबै कार्यसमिति, भातृ तथा सुभेच्छुक संघ संस्था र वडा कार्यसमिति र सबै कृयाशिल र शुभेच्छुकहरुको मिहेनतको प्रतिफल नै कांग्रेसको जित भएको बताए । जनप्रतिनिधीका हरेक कृयाकलाप जनताले निगरानी गरिरहेको हुने भन्दै उनले अनुशासनमा रहेर काम गर्न जनप्रतिनिधीहरुलाई निर्देशन दिए ।

नगर प्रमुख कुन्साङ लामाले सबैको मिहेनतका कारण कांग्रेस जितेको भन्दै सबै प्रति आभार प्रकट गरे । उनले विधी र कानून भन्दा एक इञ्च पनि तल रहेर काम नगर्ने भन्दै कानून विपरितका कुनै पनि काम नगर्ने प्रतिवद्धता जनाए । उनले टोल– टोलमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने आफ्नो तयारी रहेको भन्दै सम्बन्धित बैंकहरुसंग छलफल गरिसकेको जानकारी दिए ।

नेपाली कांग्रेस काभ्रेका सचिव गुणराज मोक्तानले गठबन्धनका कारण महिला सहभागिता केही खुम्चिएको स्विकार्दै महिलालाई पार्टी र संसदीय फाँटमा सबैभन्दा धेरै अबसर दिने पार्टी कांग्रेस नै भएको इतिहासले पुष्टी गरेको बताए । कांग्रेस महासमिति सदस्य हरिबहादुर बलले विगतका त्रुटी सच्याएर जानुपर्ने बताए ।

महाधिवेशन प्रतिनिधी समेत रहेका नेपाल प्रेस युनियनका उपाध्यक्ष इश्वरी ओझाले अघिल्लो स्थानीय तहको निर्वाचन हारेको कांग्रेस निरन्तर जनताको विचमा रहेको कारण यो पटक जित हासिल गरेको बताए । कांग्रेस महाधिवेशन प्रतिनिधी रमिला अधिकारीले सबैलाई समान अवसर दिएर कांग्रेसले नमोबुद्धलाई नमुना नगर बनाउने विश्वास व्यक्त गरिन् ।

कांग्रेस जिल्ला कार्यसमिति सदस्य सन्त लामाले जितको दम्भ देखाए कांग्रेस कम्युनिष्ट जस्तै सिद्धिने भन्दै जनताको सुखदुखमा सधै साथमा रहने बताए । उनले कांग्रेसका जनप्रतिनिधीले भ्रष्ट्राचार गरेको सुन्न नपरोस् भन्दै सुशासन र पारदर्शीतामा जोड दिन अनुरोध गरे ।

कांग्रेस नगर कार्यसमितिका कार्यबहाक सभापति इन्द्रबहादुर दाहालले जनप्रतिनिधीहरुलाई शासक नभई जनताको सेवक भएर काम गर्न अनुरोध गरे । नमोबुद्ध नगर कार्यपालिका सदस्य सुशिला परियारले महिला अधिकार, शसक्तिकरण र महिलालाई आर्थिक रुपमा सक्षम बनाउने खालका योजना ल्याउनुपर्नेमा जोड दिइन् ।

महिला संघ नमोबुद्धकी सभापति शान्ता पाठक नरालले महिलालाई लैंगिक हिसा बारे जानकारी दिन तालिम, प्रशिक्षण, प्रतिरक्षा तालिम र निशुल्क सेनेटरी प्याडको व्यवस्था गर्न माग गरिन् ।

नमोबुद्ध नगरपालिकामा कांग्रेसले नगरप्रमुख, ५ वडाअध्यक्षसहित ३१ जना नगर सभा सदस्यमा जित हासिल गरेको छ । २१ सदस्यीय नगर कार्यपालिकामा कांग्रेसका १४, माओवादी केन्द्र र एमालेको ३÷३ र १ स्वतन्त्र निर्वाचित छन् ।

एक पटक पढ्नुहोस