धुलिखेल/ जिल्ला प्रहरी कार्यालय काभ्रेको आयोजनामा नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । काभ्रेको धुलिखेल नगरपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा समुदाय–प्रहरी–साझेदारी बिच कस्तो सम्बन्ध हुनुपर्नेमा छलफल भएको थियो ।
कार्यक्रमको पहिलो चरणमा जिल्ला प्रहरी कार्यालय काभ्रे प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित हुनु भएका धुलिखेल नगरपालिकाको नगर प्रमुख, उप–प्रमुख, सम्पूर्ण वडाका वडा अध्यक्ष, वडा सदस्य र कार्यपालिकाका सदस्यहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदैँ जिल्लाको समग्र बस्तुस्थिति, अपराध अनुसन्धानको क्षेत्रमा सम्पादन गरिएका कार्यहरुको प्रगति विवरण सहितको प्रस्तुतीकरण पेश गरेका थिए ।
कार्यक्रमको दोश्रो चरणमा उपस्थित जनप्रतिनिधी तथा नागरिकहरुबाट प्रहरी काम कारवाही, सडक दुर्घटना न्यूनिकरण, अबैध जुवा तास नियन्त्रण, घरेलु मदिरा बिक्री बितरण र सेवन, आत्महत्या न्यूनिकरणमा प्रहरीको भुमिका, चोरी लुटपाट, सडक बत्ती, घरेलु हिंसा न्यूनिकरण लगायतका प्रश्नहरु उठेका थिए । उठेका सवाल जफावमा जोशीले यसका विषमा आफु गम्भीर रुपमा लाग्ने बताएका थिए ।
कार्यक्रममा नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले जिल्लाको शान्ति सुरक्षा अमन चयन कायम राख्न प्रहरीले कानुन बमोजिम गर्ने अपराध नियन्त्रण र अनुसन्धान, बिभिन्न सचेतना मुलक कार्यक्रमहरुलाई सफल बनाउन नगरपालिका तयार रहेको बताएका थिए । जिल्लाको समग्र शान्ति,सुरक्षा र अमन चयन कायम राख्ने कार्य प्रहरीको मात्र नभई सबैको साझा कर्तव्य रहेको ब्याञ्जुले बताएका थिए ।
कार्यक्रमका धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगमले नव निर्वाचित जनप्रतिनिधीहरुले स्थानिय प्रहरी कार्यालयसंग समन्वय र सहकार्य गरी काम कारवाही गरेमा गाउँ नगर र वडाको शान्ति सुरक्षा कायम राख्न सकिने बताएका थिए ।
कार्यक्रममा धुलिखेल नगरपालिकाका नव निर्वाचित १ देखि १२ नम्बर वडाका वडा अध्यक्षहरु, सामुदायिक बिद्यालयका प्रधानध्यापक तथा शिक्षक, पत्रकार, नागरिक समाज, स्थानिय जनसमुदाय लगाएत प्रहरी कर्मचारीहरु समेते उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक राजेश घिमिरे गरेका थिए ।
