After header

गाडि भाडामा बम्ह्लूट

५ किलोमिटरको बाटोमा तेब्बर गाडी भाडा !

कविता सापकोटा
काभ्रे/  बनेपाको केन्द्रबाट लगभग ५ किलोमिटर दुरीमा रहेको बनेपाकै नाला शेरा पुग्न काभ्रेकै सर्वाधिक महंगो भाडा तिर्न सर्वसाधारण बाध्य भई रहेका छन् छन् ।

५ किलोमिटर दुरीमा यात्रा गर्दा सर्बसाधारणहरु १५ किलोमिटर बराबरको भाडादर तिर्न बाध्य भएका छन् । पेट्रोलियम पदार्थको मूल्य बढेसंगै सार्बजनिक यातायात भाडादर नेपाल सरकारले नै बढाएको थियो । भाडा वृद्धि भएपश्चात पनि सार्वजनिक सवारीमा इन्धनको मूल्यवृद्धि भएको बाहानामा मनलाग्दी भाडा असुल्दै आएको पाइएको छ ।

नेपाल सरकारको नियमानुसार सार्वजनिक यातायात भाडा तोकिए अनुसार ०–५ किलोमिटर सम्म रु.१८ देखि रु .२० सम्म, ०–१० किलोमिटर सम्म रु.२५, त्यस्तै १५ किलोमीटर सम्म ३० रुपैयाँ र २० किलोमिटर सम्म ३३ रुपैयाँ र २० भन्दा माथि ३५ रुपैयाँ भाडा तोकिएको थियो ।

हालै मात्र पनः यसमा केही फेर बदल भए पनि नालाको सवालमा भने अहिले चलिरहेको गाडीभाडा नै अत्याधिक हो । यसरी भाडा तोकिएको भएपनि बनेपा नाला सडकमा सार्वजनिक सवारी साधनले भने ५ किलोमिटर यात्रा बापत नै ३० रुपैयाँ असुल्दै आएका छन् ।

विद्यार्थी परिचयपत्र हुँदा समेत २५ रुपैयाँ मनपरी भाडा लिदै आएको पाइएको छ । जसले गर्दा नाला शेरा लगायतका क्षेत्रबाट बनेपाका क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीहरु मर्कामा परिरहेका छन् । काभ्रे क्याम्पसमा अध्ययनरत विद्यार्थी बबिता दवाडीले दुखेसो गर्दै भनिन्–‘नियम विपरित भाडा तिर्दिनँ भन्दा यात्रीलाई गालीगलौज गरि थर्काउने, दुव्र्यवहार समेत गरिन्छ ।’ कहिलेकाहीँ त तेलको भाउ बढेकोले विद्यार्थी परिचयपत्रले भाडा छुट छैन समेत भनी नियम भन्दा बढी भाडा लिने गरिएको उनले बताइन् ।

दुरीको हिसाबले हेर्दा काभ्रे जिल्लामै बनेपा नाला यातायात भाडा सबभन्दा महङ्गो देखिन्छ । हालै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य प्रती लिटर १० रुपैयाँ घटेको भएतापनि यस विषयमा बनेपा नाला यातायात समितिले कुनै चासो देखाएको छैन ।

यसरी पेट्रोलियम पदार्थको भाउ घट्दा पनि भाडा नघटाउदा स्थानीयहरु मारमा परेका छन् । स्थानीय रुपा पराजुलीका अनुसार सबै सामानको मूल्य वृद्धिसँगै नियम बिपरित भाडा लिँदा हुदाखाने स्थानीय बासी लाई निकै मर्का परेको दुखेसो गर्नुभयो । नाला÷शेरा बाट बनेपा पुग्नु भन्दा त्यही गाडी भाडाले नाला बाट काठमाडौं जान पुग्ने अवस्था सिर्जना भएको स्थानीयले गुनासो गरेका छन् ।

बजार नजिक छ भनेर काम परे पनि दिनमा धेरै ओहोरदोहोर गर्नुपर्दा झनै सास्ती छ ।, मनपरी गाडी भाडा असुल गर्दा विशेष गरी वृद्ध एवं अशक्त नागरिकहरुलाई मर्का परेको छ । यस बिषयमा सम्बन्धीत निकायलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि यातायात समितिले चासो नदेखाएको र नगरपालिकाले समेत चासो नदिएकाले आफूहरु मर्कामा परेको स्थानीयहरु बताउछन् ।

यस्तै यता पनौती नगरपालिकाबाट बाठमाण्डौँ चल्ने रुटमा सिमित गाडीहरु हुँदा यात्रूको चाप ज्यादा छ । बेलुका र बिहानको समयमा यात्रु थेगीनसक्नु हुने गर्छ । गाडीमा गीतको चर्काै स्वर यात्रुहरुलाई गर्ने मनलाग्दी व्यवहारले हैरानी खेपिरहनु परेको सोक्षेत्रको स्थानियहरुले बताउँदै आएका छन् ।

सो ठाउँबाट जिल्लाको अति विकट भनेर चिनिने खानीखोलाका स्थानिय बासीहरु धेरैजसो सो रुट प्रयोग गर्ने गर्छन । यस बिषयलाई सम्बन्धित निकायले बेलैमा चासो दिएर नियमन गर्न स्थानियहरुले अपिल गरेका छन् ।

 काभ्रे सन्देश साप्ताहिक बाट

एक पटक पढ्नुहोस