कुशादेवी/ पनौती नगरपालिका–३ कुशादेवीकी ७५ वर्षिया मैया सापकोटाले आफ्नो छोरालाई नभेटेको १७ वर्ष भैसक्यो । विवाह गरेर दिएको एक छोरीको मृत्यु भएको पनि १२ वर्ष पुगिसक्यो । वुढेसकाल लागे संगै विभिन्न रोगले च्याप्दै ल्याएको छ । दमको रोगले अझ बढी सताउदै छ । डाक्टरले उहाँलाई पत्थरी पनि छ भनेका छन् ।
भोको पेटले खाना खोजिहाल्छ , विहान वेलुकी छाक टार्न चुल्लो बाल्नै प¥यो । सकि नसकि भएपनि एक गिलास पानि तताएर खानै प¥यो । चुल्ला माथि हरेक दिन साझ दियो बाल्दा चहखिलो भएर बल्छ । हरेक दिन साझवत्ति चहकिलो हुदा यी बुढी आमालाई वेपत्ता भएको छोरा एकदिन आमा भन्दै आउने आशा जाग्छ । आफ्नो छोरा भेट्ने अन्तिम इच्छा राखेर बाचेको बताउने मैया भन्नुहुन्छ– भगवानले मेरो इच्छा पुरा गरिदिने छन् ।

पहिला कुशादेवी बाझाचौर बस्ने मैया सापकोटाको श्रीमान विष्णुप्रसाद सापकोटाको मृत्यु भएको पनि २० वर्ष भयो । केहि वर्ष बनेपामा बसोबास गर्नुभएको मैयाको छोरा हरिप्रसाद सापकोटा २०३५ सालमा जन्मेका थिए । पिताको मृत्युपछि काजकिरिया गरेका छोरा हरिप्रसाद दुईतीन वर्ष श्राद्ध पनि गरेको बताउदै मैया भन्नुहुन्छ– त्यसपछि हेटौडामा काम गर्न जान्छु भनेर गएको छोरा अहिले सम्म फर्केको छैन । ‘पुसका २० गते छोरा हिडेको १७ वर्ष पुग्छ’ गहभरी आशु झार्दै यी वुढीआमा भन्नुहुन्छ– छोरा आउछ भन्ने आशाले कत्ति दुख गरेर बाचिरहेको छु ।
माइतीको सहयोगमा कुशादेवी ३ घिमिरे गाउमा १ रोपनी २ आना जग्गामा छाप्रो बनाएर बसिरहनु भएको वुढी आमा मैया सापकोटालाई भेट्न सञ्चारकर्मीहरु पुग्दा ढिडो पकाउन पानि उमाल्नको लागि आगो फुक्दै हुनुहुन्थ्यो । ‘बिरामी छु, अस्पताल जान सक्दिन, छोरा संगै भएको भए अस्पतालमा जचाउन लैजान्थ्यो होला’ उहाँ भन्नुहुन्छ– मेरो दुख बुझ्ने एउटा छोरी थिइ त्यसको पनि ग्यास पड्केर मृत्यु भयो । उहाको छोरी अनिताको १२ वर्ष अघि बनेपामा कोठामा भान्साको ग्यास पड्कीदा मृत्यु भएको थियो ।

स्थानीय बासिन्दा महेश थापाको अनुसार यी आमाको छोराको खोजिको लागि सञ्चारकर्मीहरुलाई आग्रह गर्दै उहाँको जिवन यापनको लागि सक्दो सहयोग गर्ने बताउनु हुन्छ । छोरा हरिप्रसाद सापकोटा आउने आशामा एक्लै बाचिरहुनु भएकी यी वृद्धा आमाको दैनिकी सहज बनाउन सकेसम्म सबैले सहयोग गरौं भन्दै थापाले आफ्नो तर्फबाट निरन्तर सहयोग गरिरहेको बताउनुभयो ।
आफै खेति किसानी गर्न सक्नुहुन्न । भएको जग्गाको उब्जनीले खान पुग्दैन । विरामी भएको कारण सरकारले उपलब्ध गराउने वृद्धभत्ता लिन जान समेत धौ धौ हुने यी आमालाई दैनिक चाहिने खाद्यान्न र पानी ल्याउन पनि समस्या छ । ‘छोरा आइदिए हुन्थ्यो भन्ने छ, हरेक दिन साझ बत्ति बाल्छु, उज्यालो देखिन्छ’ यी बुढी आमा भन्नुहुन्छ– अनि म विन्ति गर्दै भन्छु मेरो छोरा आइदियोस् ।
