After header

संस्मरण : ईलाको प्रेम

  • ईश्वर थोकर

 

१. न्यास्रो

कवि अमित (घिमिरे) दाइले मलाई हार्दिकताका साथ चौतारामा डाक्नुभयो ।

म पुलकित हुँदै पुगेँ ।

भाउजू गङ्गा र छोरी ईलासँग पनि हार्दिक भेट भयो ।

छोरा ईशानलाई नदेखेकाले सोधेँ, ‘भाउजू, बाबु खोई त ?’

‘… पढाइको सिलसिलामा काठमाण्डूमा ।’ भाउजूले भन्नुभयो ।

मलाई बाबु ईशानको न्यास्रो लाग्यो ।

२. चिर्कटो

म फेरि अमित दाइकै अनुरोधमा चौतारा पुगेँ ।

यस पटक भने, ईशानसँग भेट्ने सौभाग्य पाएँ मैले । ईशानसँग पहिलो र ईलासँग दोस्रो भेट थियो मेरो ।

ईशानसँग गफिएँ । ईलासँग खेलेँ ।

छुट्टिने बेला ईलाले मलाई एउटा सानो चिर्कटोमा आफ्नोबारे यसरी लेखेर दिइन्–

नाम : ईला घिमिरे

कक्षा : ४ (चार)

रोल नम्बर : २ (दुई)

वर्ष : ९ (नौ)

३. शुभकामना

केही समयपछि मैले ईलाको नाममा ‘ईला’ लेखेँ ।

प्रेमपूर्वक लेखेँ । सम्मानपूर्वक लेखेँ ।

उनले पनि मेरो नाममा कतै प्रेमपूर्वक/सम्मानपूर्वक ‘नामी लेखक बनिस्योस् ल !’ शीर्षकमा यस्तो लेखेकी रहिछन्–

ईश्वर दादा मेरो अब्बुको साथी होइसिन्छ । उहाँ हाम्रो घरमा आउनुभयो र मैले चिनेँ । उहाँले मलाई धेरै माया गर्नुभयो । उहाँको बहिनीको बारेमा भन्नुभयो । उहाँ पनि मेरो अब्बुजस्तै कविता लेख्नुहुन्छ भन्ने मैले थाहा पाएँ । मेरो घरमा धेरै लेखक र पत्रकारहरू आउनुहुन्छ । सबैले मलाई माया गर्नुहुन्छ । तर, सबसे धेरै मलाई ईश्वर दादाले गर्नुभयो । मसँग खेल्नुभयो । केके मनपर्छ भन्ने कुराहरू हामीले गर्यौँ ।

मलाई मेरो अब्बुले भन्नुभयो, ‘ईलाको बारेमा ईश्वरले कविता सङ्ग्रह निकाल्न लाग्नुभएको छ ।’ मलाई अचम्म लाग्यो । २/३ चोटिको भेटघाटमा नै मलाई किताबमा कविता बनाउने ? के लेखिसिन्छ होला ईश्वर दादाले ?

मेरो अब्बुले ईश्वर दादाको नोरी भन्ने किताबको बाहिरी डिजाइन गर्दा मैले देखेकी थिएँ । ईलाको डिजाइन गर्दा पनि म सँगै थिएँ । मैले ल्यापटपमा अब्बुले बनाएको हेरिरहेँ । अब्बुले नबुझिने चित्रहरूमात्र बनाईसिन्छ । कति धेरै बुकहरूमा मेरो अब्बुको चित्रहरू छन् । मैले जानेदेखि अब्बुले कति धेरै बनाउनुभयो । तर बिमारी के हो थाहा छैन तर अब्बुले जस्तै– ईश्वर दादाले पनि ओखती नटुटाइकन खानुपर्छ रे । किन होला ? मेरो अब्बु र ईश्वर दादा जस्ताहरूले ओखती खानुपर्ने ? उहाँहरूलाई कुनै चिन्ता र पीर पनि हुन्न कि ? मलाई त औषधि खान पर्यो भने साह्रै गाह्रो लाग्छ ।

अब्बुका साथीहरू सबै अचम्मको लाग्छन् मलाई । ईश्वर दादा पनि अचम्मको लाग्छ । त्यसै चिन्दै नचिनिकन पनि माया गर्ने । मान्छेलाई मात्र हैन, जीवजन्तु सबैलाई माया गर्ने । यति धेरै मेरो मायाका लागि ईश्वर दादालाई म के दिन सक्छु र ? मसँग पनि उही माया छ ।

ईश्वर दादालाई धेरैधेरै शुभकामना । नामी लेखक बनिस्योस् ल !

(कवि ईश्वर थोकर कविता र संस्मरण लेख्छन् । उनको प्लिक्सी, पिङ्गाई, लीला, नोरी कविता संग्रह प्रकाशित छन् । तामाङ्ग डाजाङ्ग पत्रिकामा उनको नियमित संस्मरणात्मक स्तम्भ रहेको थियो ।)

एक पटक पढ्नुहोस