- चित्र भट्टराई
न सुर छ गीतमा न ताल होस् गर्नुस्
हराउँदैछ मिठास तत्काल होस् गर्नुस् ।
यी बाँदरहरुकै सङ्गतले हजुरलाई
बनाउन सक्छ कङ्गाल होस् गर्नुस् ।
कतै अल्झिएर बाटैमा खस्ला
आफ्नै त्यो कुसुमे रुमाल होस् गर्नुस् ।
आदर्श बोकेर हिँड्छु त भन्नु भो,
हर मोडमा भेटिन्छन् दलाल होस् गर्नुस् ।
दुईचार फिट नाघेर भेटिन्न खजाना
नाघ्नु पर्नेछ अग्लो पर्खाल होस् गर्नुस् ।
बुद्धिचाल खेल खेल्ने हवाला दिएर
खेल देखाउँदै छ यहाँ बाघचाल होस् गर्नुस् ।
बैगुनीको पनि गुन सम्झेर उसले
ओढाउँदैछ हजुरलाई त्रिपाल होस् गर्नुस् ।
भात खान आइपुग्नु भो, तर भान्सामा
न तिहुँन–तरकारी छ न दाल होस् गर्नुस् ।
यो ‘कास्टिङ्ग’ मात्रै हो खास ‘स्टोरी’त
सङ्केत गरेभन्दा छ बबाल होस् गर्नुस् ।
(गजलकार चित्र भट्टराईको ‘चकित आकाश’ गजल संग्रह प्रकाशित छ ।)

