After header

लघुकथा : भाले नबासे पनि बिहान हुन्छ

  • गोपालप्रसाद थपलिया

 

“अभिवादन ! नेता ज्यू !” कर्णले भने ।

“अभिवादन ! के छ तपाईंको खबर धेरैपछि तपाईंसंग भेट भयो ! कर्णजी, संचै हुनुहुन्छ नि !” नेताले भने ।

“ठीकै छु । तपाईंलाई भेट्न पशुपति गएर मेरो नेतालाई भेट गराई दिनुहोस् भन्न बाँकी थियो तर तपाईं भेट हुनुभयो !”  कर्णले  भने ।

“हाम्रो भेट किन हुन सकेन मलाई थाहा छैन ।  तपाईंजस्तो इमान्दारलाई मैले भेट नदिने त कुरै हुँदैन !” नेताले भने ।

“तपाईंले मलाई किन भेट् दिनु भएन तपाईंले जान्ने कुरा हो नि  नेताज्यू !” कर्णले भने ।

“पंचायत निरंकुश ब्यवस्थाको बिरोधी आन्दोलनमा हामी एकसाथ थियौ,  अहिले त त्यस्तो छैन ! गणतन्त्र आइसकेको छ । आआफ्नै धुनमा ।” नेताले भने ।

“गणतन्त्रमा जस्ले जे गरेपनि हुन्छ त नेता ज्यू ?” कर्णले भने।

“खै, यस्तै भइराखेको छ !” नेताले भने ।

“यो काम त तपाईं नेताहरूबाटै सुरू भयो नि त नेताज्यू !” कर्णले भने ।

“मैले त देश र जनताको सुख समृद्धिकोलागि गरें नि !” नेताले भने ।

“पार्टीमा त सामुहिक नेतृत्व ब्यक्तिगत जिम्मेवारी हुन्छ भनेर तपाईंहरूले सिकाउनु भएको हामीलाई त ! तर लोकतान्त्रिक गणतान्त्रिक ब्यवस्थामा पार्टीमा एउटैको मात्र हैकम चल्ने हो र नेता ज्यू !” कर्णले भने ।

“होइन नि ! तर ठूल्ठूल्ला नेताहरूको त अधिकारको कुरा हो नि यो !” अरूलाई किन सोधिरहनु पर्यो र !” नेताले भने ।

“तपाईं नेताहरूले मात्रै यो पार्टी बनाएको हो र ?” कर्णले भने।

“यो पार्टी कस्कस्ले बनाए तपाईंलाई पनि थाहा छ नि !” नेताले भने ।

“मलाई थाहा छ यो पार्टी बनाएको त यो देशका जनभक्त र देशभक्त लाखौलाख श्रमजीवी जनताहरूले हो । हजारौहजार इमान्दारहरूको त्याग र बलिदानबाट यो पार्टी बनेको हो । कुनै नेता विशेषको  हैकम चलाउनकालागि यो पार्टी बनेको पनि होइन । देश र जनतालाई सुख र समृध्दि दिन यो पार्टी बनेको हो !” कर्णले  भने ।

“यी सब कुरा छोड्नुस् । तपाईंजस्तो त्यागी ब्यक्तिलाई सासंद बनाउने कुरा थियो तर त्यसबेला बनाउन सकिन । यस पटक पक्का । धेरै क्रान्तिकारी कुरा नगर्नुस् अब ।” नेताले भने ।

“पार्टी त ध्वस्त पारिसक्नु भयो, के को सांसदका कुरा । म तपाईंसंग सांसद माग्न आएको होइन । तपाईले  गरेका गल्तिहरूको सार्वजनिक माफ माग्नुहोस्, आलोचना र आत्मालोचनाको पध्दति लागू गर्नुहोस् र पार्टीलाई एक ढिका बनाएर अगाडि बढाउनुहोस् यही भन्न म तपाईं ठूलो नेता कहाँ आएको । मैले अरू नेताहरूलाई पनि यही भनेको छु र तपाईं तयार हुनुभो भने सब तयार छन् ।” कर्णले भने ।

“कुरा त ठीकै गर्नुभो तर मेरो आत्मालोचना गर्ने आदत  छैन । सबै ध्वस्त भए होस् !” नेताले भने ।

“सिध्दान्त र व्यवहार एक सिक्काका दुइपाटा हुन् । यो कुरा बुझ्नुहोस् । तपाईं कुन पार्टीको नेता हुनुहुन्छ आफै बुझ्नुहोस् । सच्चिने मौका छ अझै ।” कर्णले  भने ।

“खै !” नेताले भने ।

“बुझेर बुझ नपचाउनुहोस् । आफ्ना गल्तिहरू सच्याउन ढिला नगर्नुस् । यदि सच्याउनु हुन्नभने केही वर्ष हामी जनताले दुःख पाउँला तर जनताको आन्दोलन रोकिन्न,  अगाडि बढ्छ बढ्छ । “भाले नवासे पनि  बिहान अवश्य हुन्छ” बुझ्नु भो नेताज्यू  !” भन्दै त्यहाँबाट कर्ण हिंडे ।

 

एक पटक पढ्नुहोस