काठमाडौं । वर्षायामसँग बढेको डेंगुको संक्रमण ह्वात्तै घटेको छ । वर्षायाम सकिएको र जाडो सुरु हुन थालेपछि डेंगुको संक्रमण घटेको हो ।
अहिले मौसम चिसो भएको र लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँ नभएपछि ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टे पनि हराउँदै गएको छ । जसले गर्दा डेंगुको संक्रमण पनि कम हुदै गएको छ ।
वर्षायाममा कुनै समय एकहप्तामा पाँच हजारभन्दा बढी डेंगुका बिरामी भेटिएका थिए । अहिले त्यो संख्या निकै घटेको छ । गत मङ्गलबार (यही कात्तिक १५ देखि कात्तिक २० गते) सम्म ६ सय २४ जनामा मात्र डेंगुका बिरामी भेटिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
जवकी अंग्रेजी महिना अक्टोबरमा (गत असोज १५ देखि कात्तिक १५सम्म) मा १७ हजार सात सय १७ जनामा र अंग्रेजी महिना सेप्टेम्बरमा २७ हजार पाँच सय २९ जनामा डेंगुको संक्रमण देखिएको थियो ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले डेंगुको संक्रमण विगत दुई हप्तादेखि घटेको बताए । उनले वातावरणको प्रभाव र रोकथाम तथा नियन्त्रणमा गरेको कामको आधारमा डेंगुका बिरामी घटेको बताए ।
महाशाखाकै कीटजन्यरोग शाखा प्रमुख डा. गोकर्ण दाहालले जनवरीदेखि ३७औँ हप्तासम्म डेंगुको संक्रमण बढेको र त्यसपछि ३८औँ हप्तादेखि घटन सुरु भएको जानकारी दिए । उनका अनुसार ४३औँ हप्तामामा हजारभन्दा कमको संख्यामा डेंगुका बिरामी भेटिएका छन् । ४४औँ हप्तामा आइपुग्दा छ सय २४ जनामा मात्र डेंगुको संक्रमण देखिएको छ ।
उनले अवको १५ दिनभित्र यो संख्या निकै कम हुने बताए । महाशाखाका निर्देशक डा. दासका अनुसार संक्रमण दर उच्च भएको बेला नेपालमा डेंगु–१, डेंगु–२, डेंगु–३ र डेंगु–४ चार प्रकारका देखिएका थिए ।
महाशाखाका निर्देशक डा. दासले संक्रमण अघि गरिएको १२ वटा नमूनामा सात वटामा डेंगु–१ र पाँच वटा नमूनामा डेंगु–३ देखिएको जानकारी दिए । अहिले फेरि कुन तहको डेंगु रहेको छ भनेर पत्ता लगाउनका लागि नमूना परीक्षण गरिएको छ । त्यसको रिर्पोट अझै नआएको उनको भनाइ छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा. मनिषा रावलका अनुसार अहिले अस्पतालमा ९ जना मात्र बिरामी रहेका छन् । तीमध्ये तीन जना सघन उपचार कक्ष (आइसियु) र ६ जना साधारण शय्यामा उपचाररत रहेका छन् । अस्पतालका प्रमुख कल्सन्टेन्ट फिजिसियन डा. बिमल चालिसेले विगत १५ दिनदेखि डेङ्गुका बिरामी आउनेको सङ्ख्यामा कमी भएको बताए ।
उनले जाडो भएसँगै डेंगुको संक्रमण गराउने लामुखुट्टेको सक्रियता कम भएको, मानिसले पनि बाक्लो हातखुट्टा छोपिने कपडा लगाउने गरेकोले डेंगुका बिरामी घटेको बताए ।
उनले अस्पतालको आकस्मिक सेवा, बहिरङ्ग सेवा र परीक्षण गराउने आउने बिरामी घटेको बताए । अस्पतालमा पहिले दैनिक एक सय ५० देखि एक सय ७० बिरामी उपचार गर्न आउने गरेपनि अहिले त्यो संख्या घटेको छ । साँझ–बिहानको समयमा सक्रिय हुने मौसममा सफा र जमेको पानीमा बस्न ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण हुने गर्दथ्यो ।
नेपालमा यसवर्ष सबैभन्दा बढी डेङ्गुका बिरामी भेटिएका छन् । असारदेखि असोज मसान्तसम्म सबैभन्दा बढी डेंगुका बिरामी भेटिएका हुन् । यसवर्ष मात्र ५० हजार दुई सय ६३ जना डेंगुका बिरामी भेटिएका छन् ।
तीमध्ये ५४ जनाको डेंगुका कारणले निधन भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले डेंगुका बिरामी घटेको बताए । उनका अनुसार अहिले २० जना मात्र डेंगुका बिरामी उपचारत रहेका छन् ।
नेपालमा पहिलो पटक सन २००४ मा एक जनामा डेंगु देखिएको थियो । सन् २००५ मा भने डेंगुका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेंगुको संक्रमण देखिँदै आएको छ ।
सन् २००६ मा ३२ जना, २०१० मा ९ सय १७ जना, २०१३ मा ६ सय ८६ जना, २०१६ मा एक हजार पाँच सय २७ जना, २०१७ मा दुई हजार एक सय ११ जना, २०१८ मा आठ सय ११ जना र २०१९ मा डेंगु बढेको पाइन्छ ।
तिमध्ये सबैभन्दा बढी २०१९ मा १७ हजार नौ सय ९२ जनामा डेंगुका बिरामी देखिएका थिए । त्यसपछि कोरोना भाइरसका कारणले नेपालमा डेंगुको संक्रमण कम देखिएको छ । सन् २०२० मा पाँच सय ३० जना र सन् २०२१ मा पाँच सय ४० जना डेंगुका बिरामी देखिएका थिए ।
पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फूल लार्भा निस्कन्छ र त्यहीँ लार्भा वयस्क भएपछि टोकेर डेंगुको रोग लाग्ने गर्दछ ।
पछिल्लो समय लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगुका बिरामी बढ्दै गएपछि काठमाडौं महानगरकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको थियो ।– रासस