पनौती/ पनौती नगरपालिकाको बाह्रौँ नगर सभा शुक्रवार नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७९÷२०८० का लागि एघारौँ सभाबाट स्वीकृत योजना तथा कार्यक्रममा संशोधन नगर उपप्रमुख गीता बञ्जाराले पेस गरेकी थिईन् ।
त्यस्तै वडा अध्यक्ष वेदप्रसाद बञ्जाराले चालु आर्थिक वर्ष २०७९÷२०८० को यस अवधि सम्मको आय व्यय अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गरेका थिए । वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले चालु आर्थिक वर्षको उपलब्धिको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । वडा अध्यक्ष जयराम केसीले चालु वर्षको न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै वडा अध्यक्ष जयकुमार तामाङले उद्योग दर्ता अनुगमन तथा नियमन सम्बन्धी विधेयक २०७९ पेस गरेका थिए ।

वडा अध्यक्ष सविन ताम्राकारले गैरसरकारी संघ संस्था दर्ता सम्बन्धी विधेयक २०७९ पेस गरेका थिए । वडा अध्यक्ष विपेन्द्र लामाले शिक्षा ऐन २०७४ मा पहिलो संशोधन सम्बन्धी प्रस्ताव पेस गरेका थिए ।वडा अध्यक्ष विनोद खत्रीले योजना अनुगमन तथा फरफारक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । वडा अध्यक्ष भिमप्रसाद आचार्यले विपद् व्यवस्थापन समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
वडा अध्यक्ष सहकुल कुमार हुमागाईँले एघारौँ नगर सभा पश्चात् हालसम्म भएका कार्यपालिकाले विभिन्न मितिमा गरेका निर्णयहरू अनुमोदन समवन्धी प्रस्ताव पेस गरेका थिए भने वडा अध्यक्ष दीपकप्रसाद दाहालले धन्यवाद प्रस्ताव पेस गरेका थिए । नगर प्रमुख रामशरण भण्डारीको अध्यक्षतामा सम्पन्न सभामा प्रस्तुत विधेयकहरु पास भएको छन् । साथै समसामयिक विषयमा उठेका विषयहरुको सम्बोधन गर्दै चालु आर्थिक वर्षमा भएका प्रगतिका बारेमा समीक्षा भएको छ ।

सभामा पेस भएका प्रस्ताव उपर भएको छलफल तथा सभाका सदस्यहरुले उठाएका सार्वजनिक महत्वका विषयहरूलाई सम्बोधन गर्दै आगामी कार्यपालिका तथा योजनाहरुमा समेटने गरी छलफल सहित प्रस्तावहरु पास भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले जानकारी दिए ।
