After header

गाउँपालिकाका अध्यक्ष भगवानसगँ विद्यार्थीको गुनासो

काभ्रे /  काभ्रेको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी सगँ भैरव माविका विद्यार्थीले गुनासो पोक्केका छन् । शुक्रबार अध्यक्षसँग बालबालिका कार्यक्रम लिएर बेथानचोक १ च्याम्राबेंसीस्थित झिंगे पुग्गेका बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी तथा वडा अध्यक्ष मधुसुधन तिमल्सिनालाई भैरब माध्यमिक विद्यालयका विद्यार्थीहरु गुनासो राखेका छन् ।

विद्यार्थीहरुले सोधेका प्रश्नमा हाम्रो विद्यालयको कम्प्युटर ल्याब अज्ञात समूहले तोडफोड गरेपछि पठनपाठनमा समस्या भएको छ । कहिले बन्छ अध्यक्षज्यू ? त्यस्तै गरी विद्यालयमा कम्पाउण्ड छैन, घेराबार कहिले बनाइदिनु हुन्छ ? वडाका अरु स्थानमा त फ्रि इन्टरनेट वाइफाइ लगिदिनु भएको छ रे, एउटा फ्रि वाइफाइ हाम्रो विद्यालयमा राख्न मिल्दैन ? किनकी हाम्रोमा स्मार्ट बोर्ड छ तर, इन्टरनेट नभएकै कारण प्रयोगविहिन छ त्यो थाहै होला । चट्याङले हाम्रो वायरिङ सबै बिग्रेको छ, बनाउन मिल्दैन अध्यक्षज्यू ? हाम्रोमा शिक्षक संख्या कम छ, पूर्ण कहिले होला ? एउटै वडामा भएका २ मा.वि. मध्ये चक्रेश्वरलाई धेरै माया गर्नुहुन्छ रे हाम्रो विद्यालय पर ( झिंगेमा ) भएका कारण विभेद भएको हो ? यस्ता खालका प्रश्न सोधेका विद्यार्थीले अबका दिनमा यसको समस्याको समधान गर्ने भनि विद्यार्थीहरु सित अध्यक्ष अधिकारीले प्रतिवद्धता समेत गरे ।

उनले जवाफ दिदै केही समय अघि अज्ञात समूहले विद्यालयको कम्प्युटर ल्याब तोडफोड गरिएकोप्रति आफूले बारम्बार सुरक्षा निकायको ध्यानाकर्षण गराएको र दोषिलाई दायरामा ल्याउन आग्रह गरिरहेको बताउँदै हाल बन्नेसम्मका सबै कम्प्युटर अविलम्ब मर्मत गराई सुचारु गराउने वचन दिए । विद्यालयमा अन्य पूर्वाधारहरुलाई पनि क्रमशः आवश्यकताका आधारमा पुरा गर्दै लैजाने छु भन्दै शिक्षका लागि कुनै कमी कमजोरी हुन नदिने समेत विद्यार्थीहरुको अगाडि बाचा गरे ।

भौतिक संरचना, पुस्तकालय, शौचालय, विज्ञान प्रयोगशाला, बालविकास केन्द्रका सामग्री उपलब्ध गराउन अन्य विद्यायल भन्दा यो विद्यालयलाई पनि रत्तिभर भेदभाव नगरिएको उनले प्रष्ट पार्दै शिक्षा प्रदान गर्ने सर्वोत्कृष्ट कर्ममा निरन्तर लागिरहन  शिक्षकहरुलाई आग्रह समेत गरे । कक्षाकोठामा भएकै बालबालिकाहरू पछि गएर समाज र राष्ट्रको अभिन्न अङ्ग बन्ने भएकाले उनीहरु असल भए समाज र राष्ट्र पनि असल हुने बताउँदै शिक्षकले ‘म शिक्षक हुँ’ भनेर आफ्नो पेसालाई आत्मगौरवका साथ भन्न सक्नुपर्छ, सिकाउनु पर्छ ।

तपाईहरु शिक्षण सिकाइलाई अब्बल बनाउँदै लैजानुस हामी आवश्यक पूर्वाधार थप्दै लैजान्छौं ।विद्यार्थी लक्षित गर्दै उनले असल विद्यार्थी कहिल्यै पनि योजनाविहीन नहुने बताउँदै निश्चित योजना, उद्देश्य वा लक्ष्य लिएर अघि बढ्न आग्रह गरे । उनले भूगोल फरक भए पनि सिकाइ, पाठ्यपुस्तक समान भएकाले आज पढेँ भने मात्र भोलि म सफल हुन सक्छु, आज लगनशील भएँ भने मात्र आउँदा दिन सहज हुन सक्छन् भन्ने धारणा लिँदै अघि बढ्न सबै विद्यार्थीहरुलाई आग्रह गरे ।

विद्यालयमा हुने कुनै पनि समस्या आफै मिलेर समाधान गर्नुहोस नमिले मलाई सिधै फोन गर्न भनि समेत आग्रह गरे । उनले चट्याङग्रस्त क्षेत्र भएकै कारण विभिन्न स्थानमा अर्थिङ जडान गरी क्षति न्यूनिकरणका लागि गाउँपालिकाले कार्य गरिरहेकाले चट्याङबाट हुने सम्भावित क्षति कम हुनेमा आशा व्यक्त गरे ।

कार्यक्रममा वडा अध्यक्ष मधुसुधन तिमल्सिनाले बेथानचोको वडा नं. १ भौगोलिक दृष्टिलेसमेत दुर्गम भएका कारण कतिपय सुविधाबाट बञ्चित हुनु परे पनि विना भेदभाव समान व्यवहार गरिएको बताउँदै शैक्षिक गुणस्तरका लागि सबै अग्रसर हुन आग्रह गरे । उनले सो विद्यालयको कम्प्युटर ल्याबमा पु¥याइएको क्षतिको अविलम्ब दोषी पत्ता लगाउन सरोकारवालाहरुको ध्यानाकर्षण गराए ।

विद्यालयको चौतर्फी विकासका लागि गाउँपालिकाले अध्यक्षसँग बालबालिका कार्यक्रम अघि सारेको बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालकृष्ण सापकोटाले विद्यालयको वरिपरी वाल लगाउनु पर्ने, घेराबार लगाउनु पर्ने, शिक्षक संख्या बढोत्तरी गर्नु पर्ने, प्रविधिमैत्री संरचना पुनः निर्माण गर्नुपर्ने लगायतका माग राखेका थिए । उनले शिक्षकहरुका लागि तालिम र आइसीटी सामग्रीको पनि माग गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक ओमप्रसाद तिमल्सिनाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण बेथानचोक गाउँपालिकाकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुजाता आचार्यले गरेको कार्यक्रममा वडा नं. १ का सदस्यहरु, स्थानीय अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

एक पटक पढ्नुहोस