काठमाडौं । सरकारले पोर्चुुगलमा राजदूतावास स्थापना गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको पारिश्रमिक भूकम्प पीडितलाई दिने निर्णय गरेको छ । त्यस्तै, बैठकले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका, २०८० विधेयक आज स्वीकृत गर्ने निर्णय गरेको उनले बताइन् ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे विज्ञ समूहले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिएको छ ।
‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम लामो समयदेखि अवरुद्ध थियो । यस सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ,’ सरकारी प्रवक्ता समेत रहेकी मन्त्री शर्माले भनिन् ।
बैठकले मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको भरतपुर क्रिकेट रंगशाललाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने निर्णय गरेको उनले जानकारी दिइन् । त्यस्तै, विकास निर्माणका सन्दर्भमा इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये रु पाँच प्रतिलिटर बुढीगण्डकी जलविद्युत आयोजनालाई उपलब्ध गराउने व्यवस्था गर्ने निर्णय भएको छ । यसले बुढीगण्डकीको काम तदारुकताका साथ अघि बढ्ने उनले बताइन् ।
त्यस्तै, विद्युत् प्राधिकरणमार्फत कर्णाली जलविद््युत् आयोजनाको अध्ययन अघि बढाउने निर्णय पनि भएको छ । मन्त्रिपरिषद्का बाँकी निर्णय भने नियमित पत्रकार सम्मेलनमा जानकारी गराइने मन्त्री शर्माको भनाइ छ ।