काठमाडौँ । सम्पति शुद्धीकरण सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित गरिएको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित भएको हो । बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सो विधेयक पारित गरियोस् भनी सभामा प्रस्तुत गरेका थिए ।
मन्त्री गुरुङको प्रस्तावलाई सभामुखले निर्णयार्थ पेश गरेका थिए । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) तथा आतङ्ककारी कार्यमा वित्तीय वातावरण निर्माण र व्यावसायिक वातावरण प्रवर्द्धन गर्न केही ऐनलाई संशोधन गर्न ऐन बनाइएको हो । गत असोज २४ गते कानुन, न्याय तथा मानवअधिकार समितिबाट सो विधेयक पारित भएको थियो ।
विधेयकमाथि राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी लगायतका सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका थिए । प्रतिनिधिसभाको आगामी बैठक फागुन ६ गते बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।
