काठमाडौँ । गत पुस १३ गते काठमाडौको बालकुमारीमा घटेको घटनाको प्रतिवेदन आज आयोगका अध्यक्ष पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलले उपप्रधान एवं गृहमन्त्री नाराकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । पुस १३ मा ललितपुरको बालकुमारी स्थित ईपिएस कोरिया शाखामा फारम भर्ने विषयमा विवाद भएपछि परीक्षार्थीहरुले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा दुईजनाको मृत्यु भएको थियो । प्रहरीको दमनबाट अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतले ज्यान गुमाएका हुन् ।
प्रतिवेदन बुझ्दै गृहमन्त्री श्रेष्ठले आयोगको निष्कर्षलाई कार्यान्वयन गर्ने बताएका छन् । मन्त्रिपरिषद्ले पुस १६ मा गठन गरेको आयोगको म्यादपछि १५ दिन थप गरिएको थियो । आयोगका पदाधिकारीले ४४ दिनमा प्रतिवेदन बुझाएका हुन् । आयोगले प्रत्यक्षदर्शी, सञ्चारकर्मी, पीडितका परिवार र घाइते र घटनासँग सम्बन्धित सुरक्षा निकायका अधिकारी सहित २९ जनासँग बयान लिएको छ ।
