रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रममा खाना खाने क्रममा सर्केर एकजनाको मृत्यु भएको छ भने अर्का एकजना बेहोस भएका छन् ।
रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापका डा केशव श्रेष्ठले बताए । रामेछाप नगरपालिकाका कर्मचारीहरुले सोही पालिकाको वडा नं ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा शनिबार वनभोज आयोजना गरेका थिए ।
खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो । खोकीका कारण श्रेष्ठ शिथिल हुँदै गएपछि उनलाई जिल्ला अस्पताल पु¥याइएको थियो । पर्याप्त उपचार सेवाको अभावमा सिकिस्त भएका श्रेष्ठलााई उपचारका लागि काठमाडौँ पठाउन हेलिकप्टर झिकाउने प्रयास भइरहँदा मृत्यु भएको हो ।
सो घटनापछि रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समीर कार्की पनि बेहोस भएका थिए । उनको भने जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ । हाल उनको अवस्था सामान्य छ ।
