बुटवल । लुम्बिनी प्रदेशमा चार जना मन्त्रीले शपथ लिएका छन् । शुक्रबार मुख्यमन्त्री नियुक्त भएका जोखबहादुर महराले प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ लिएपछि तीन जनालाई मन्त्री नियुक्त गरेसँगै पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद बनेको हो ।
नवनियुक्त मन्त्रीहरुमा नेकपा एमालेबाट चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दीपेन्द्र पुन तथा जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिर रहेका छन् । अर्घाखांचीका आचार्य एमाले संसदीय दलका उपनेता हुन् ।रोल्पाका पुन गत चुनावमा स्वतन्त्र उम्मेदवार बनेर कांग्रेस र माओवादीका साझा उम्मेदवार कांग्रेस प्रदेश सभापति अमरसिंह पुनलाई पराजित गरेका नेता हुन् ।
उनी अघिल्लो चुनावमा पनि प्रदेश सांसद चुनिएका थिए । बांकेका अहिर यसअघिको सरकारमा समेत कृषि तथा भूमि व्यवस्था मन्त्री थिए ।बाँकी मन्त्रीहरु मुख्यमन्त्रीले विश्वासको मत लिएपछि नियुक्त गरिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।