काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल संसद भवन जानु अघि रिहर्सल गरिएको छ । राष्ट्रपति पौडेल आज ३ बजे संसद भवन जाने कार्यक्रमको एक सिहर्सल गरिएको हो ।
उनी पुग्ने तोकिएको समय मंगलबार अपराह्न तीन बजे हो, तर उनकै शैलीमा बिहानै अर्का एक युवक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा देखापरे ।ती युवक राष्ट्रपतिको सवारीकै शैलीमा संसद भवन छिरे । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले उनलाई पुष्पगुच्छाले भव्य स्वागत गरे ।
ती युवकका लागि रातो कार्पेट बिच्छ्याइएको थियो । उनले संसद भवन पुगे लगत्तै नेपाली सेनाको सलामी पनि खाए । त्यसपछि सभामुख र राष्ट्रियसभा अध्यक्षले संयुक्त सदनको बैठक बस्ने कार्यकक्षमा लगे । रोष्ट्रममा उनी उभिँदा सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायत सुरक्षा अधिकारीहरु पनि उभिए । केहीबेरमा युवक निस्किए । यो मंगलबार नै हुने राष्ट्रपति रामचन्द्र पौडेलको संसदमा हुने सवारीको रिहर्सल थियो ।
दौरा सुरुवाल लगाएर राष्ट्रपतिको सवारीको रुपमा संसद भवन छिर्ने ती युवक हुन– ‘डमी राष्ट्रपति’, जो राष्ट्रपति पौडेलकै सुरक्षार्थ खटिएका नेपाली सेनाका अधिकृत हुन् ।
