After header

एमाले काभ्रेको ११औ अधिबेशन आजबाट

अध्यक्षकाका लागि चन्द्र र राजनको भिडन्त हुने सम्भावना

काभ्रे । नेकपा एमाले काभ्रेको ११औँ जिल्ला अधिबेशन आजदेखि धुलिखेलमा सुरुहुने भएको छ । अधिबेशनको उद्घाटन धुलिखेलस्थित बेचिङ प्लान्टमा आज सोमबार दिउँसो नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

सचिवालय बैठकले छनौट भएका प्रतिनिधीहरुको अनुमोदन गर्दै विधानत मनोनित गर्न पाउने प्रतिनिधीहरुको छनौट गरेको छ । छनौट गरिएका प्रतिनिधीहरुलाई प्रदेश कमिटीले अनुमोदन गरे पछि मात्रै बन्द सत्रमा भाग लिन पाउने ब्यवस्था छ । १ सय ३५ वडा र जनबर्गिय संगठनबाट छनौट भएका प्रतिनिधीहरुका आधारमा मनोनित समेत गरी ६ सय ९० प्रतिनिधीहरु सहभागि हुने एमाले काभ्रेले जानकारी दिएको छ । नयाँ कमिटी १ सय ५ सदस्यीय हुनेछ ।

तीन दिनसम्म चल्ने अधिवेशनको खुल्ला सत्र सकिए लगत्तै बन्द सत्र धुलिखेल नगरपालिकाको सभा हलमा आयोजना हुनेछ । बन्द सत्रमा प्रस्तुत गर्ने नमुना काभ्रे, सम्वृद्ध काभ्रेलीको परिकल्पनालाई साकार पार्न थप योजना निर्माण गर्ने महत्वपूर्ण अवसरलाई तल्ला कमिटीहरु समक्ष पु¥याउन निर्देशनात्मक मन्तब्य हुनेछ ।

पार्टी अध्यक्ष अशोक व्याञ्जूको संयोजकत्वमा प्रतिवेदन लेखन समिति, उपाध्यक्ष चन्द्र लामाको संयोजकत्वमा आर्थिक ब्यवस्थापन समिति, सचिव राजन भुर्तेलको संयोजकत्वमा प्रतिनिधी ब्यवस्थापन समिति, उपसचिव राजकुमार सापकोटाको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति गठन गरेको छ । अधिवेशनको लागी मञ्च र खाना ब्यवस्थापनको संयोजन पार्टी धुलिखेल नगर कमिटीले गरेको जनाइएको छ ।

यसैबीच एमाले काभ्रेमा नयाँ नेतृत्वका लागि उपाध्यक्ष चन्द्र लामा र सचिव राजन भूर्तेल प्रतिस्पर्धामा उत्रने सम्भावना बलियो हु्ँदै गएको बुझिएको छ । दुवै जना नेतृत्वका लागि पछिल्ला हप्तादेखि जिल्ला, प्रदेश तथा केन्द्रीय नेतासम्म ‘लबिङ’मा लागेको बताइयो । संस्थापन पक्षका रुपमा स्थापित एक समूहले भूर्तेललाई नै समर्थन गर्ने सतहमै देखिएपछि लामा पनि आन्तरिक तयारीमा जुटेका हुन् ।

लामाले युवा, विद्यार्थीदेखि जनवर्गिय संगठनका प्रतिनिधिसम्म तथा जिल्लातहका नेतासँग भेटघाट र सम्पर्क बाक्लो बनाएको एक नेताले बताए । उनका अनुसार उपाध्यक्ष भैसकेका लामाले अध्यक्ष दावी गर्नु स्वाभाविक भएपनि पार्टीकै अन्य क्षेत्रगत स्थानमा ‘स्थान’ दिने आश्वासनमा अध्यक्षको उम्मेदवारी नदिलाउन संथापन भनिएकाहरु छलफलमा बस्न ताकेता गरिरहेका छन् । ‘तर लामाले उक्त प्रस्तावलाई वेवास्ता गरिरहेका छन्’ ती नेताले भने ।

उता भूर्तेल भने लामाले उम्मेदवारी नदिए आफु सर्वसम्मत् हुनेमा विश्वस्त देखिएका छन् । ‘भूर्तेल एक हिसावले अध्यक्ष हुनेमा विश्वस्त त देखिएका छन्, तर लामाले अडान नछाडेमा दुवै जनाबीच मतदानकै आधारमा कडा प्रतिस्पर्धा हुनेछ’ जिल्लास्थित अर्का नेताले भने ।

उनले लामालाई आउने संसदीय निर्वाचनमा काभ्रे निर्वाचन क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यमा टिकट दिलाएर भूर्तेललाई अध्यक्षमा सर्वसम्मत् बनाउने कसरत पनि भइरहेको मिडिया दर्पणलाई बताए । तर त्यो प्रस्ताव लामाले मान्ने सम्भावना न्यून रहेको ती नेताको दावी छ ।

अधिवेशन सुरु हुनै लाग्दासमेत लामा र भूर्तेल दुवै अध्यक्षमा उम्मेदवारी हुने÷नहुनेमा अन्योलता देखिएपछि दुवै प्यानलमा हौसिएका अन्य ‘पदाधिकारी उम्मेदवार’मा पनि थप अन्योलता छाएको छ । जसरी पनि अध्यक्षबाहेकको पदाधिकारीमा आउन चाहने केहीले दुवै सम्भावित अध्यक्षका उम्मेदवारलाई ‘पद’ मागेको चर्चा चलेको पाइएको छ । केही जिल्ला एवं केन्द्रीय नेताहरुको ‘सचिवलाई उपाध्यक्ष र उपाध्यक्षलाई अध्यक्ष’ बनाउनुपर्ने सार्वजनिक रुपमा घोषणा गर्दै लबिङमासमेत लागेको पाइएको छ ।

एकातर्फ १०औँ अधिवेशनझैँ ११औंमा पनि अध्यक्षमा सर्वसम्मत् गराई अन्य पदाधिकारीलगायतका पदमा भने निर्वाचन नै गराउने सम्भावना पनि प्रबल रुपमा देखिएको छ भने अर्कोतर्फ दुवै अध्यक्षका आकांक्षीबीच प्रतिस्धर्पा गराई बाँकी पदमा सर्वसम्मत् हुने सम्भावना पनि चर्चामा देखिएको छ ।

तर, अध्यक्ष पदमा दुवैको टक्करले पार्टी एकखालको विभाजनतर्फ जाने सम्भावनालाई मध्यनजर गर्दै केन्द्रीयस्तरमा नेताहरु विकल्पका रुपमा तेस्रो व्यक्ति (जिल्लास्थित पुराना नेता) लाई सर्वसम्मवत् अध्यक्ष पदमा ल्याउने सम्भावना पनि टड्कारो रुपमा नदेखिएको भने होइन ।

एक पटक पढ्नुहोस