काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेले छुट्टाछुट्ट हत्याको घटनामा संलग्न दुई जना अभियुक्तलाई बुधबार सार्वजनिक गरेको छ । धुलिखेलमा आयोजित पत्रकार सम्मेलनमा केहि हप्ताअघि तेमाल र महाभारत गाउँपािलकामा भएका रहस्यमय दुई घटनाको अनुसन्धान गर्दै हत्यामा संग्लन रहेकालाई सार्वजनिक गरेको हो ।
जिल्लाको महाभारत गाउँपालिका–४ तिनखुट्टेमा यही जेठ ७ गते भएको दम्पत्ति हत्यामा संलग्न सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–१ घर का ३८ वर्षीय एकेन्द्र सार्की र जेठ २४ गते तेमाल गाँउपालिका–२ को काफलडाँडास्थित चुखाबाट तिनपिप्ले जाने कच्ची सडक खण्डको छेउमा बस्दै आएकी ५७ बर्षिय साहिली तामाङको हत्या अभियोगमा सोही स्थानका बर्ष ५७ को मानध्वज तामाङलाई प्रहरीले सार्वजनिक गरेको छ ।
जेठ ७ गते महाभारतमा दुई जनाको फलामको रड र हम्मर प्रयोग गरी हत्या गरेको घटनामा प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठको कमाण्डमा विशेष अनुसन्धान टोली र नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोकाठमाडौसमेतको टोलिद्वारा संयूक्तरुपमा ‘अप्रेशन महाभारत’ नाम दिएर दम्पत्तिको हत्यामा संलग्नको खोजी गरेको कार्यालय प्रमुख एस्पी बसुन्धरा खड्काले जानकारी दिईन् ।
उनका अनुसार एकेन्द्रले जेठ ७ गते राती मानबहादुर बल र निजको श्रीमती केकै माया तामाङनीलाई फलामको रड र फलामको घन लगायतका औजारहरु प्रयोग गरी हत्या घटनाको अनुसन्धानमा देखिएको छ ।उक्त घटनालगतै अभियुक्तले मोबाइल, मृतक केकै माया र मानबहादुरले लगाएका सुनका गरगहनाहरु, मृतकहरुको पसलमा रहेको रिचार्ज कार्डहरु तथा नगद रकम समेत लुटी लगेका प्रहरी अनुसन्धानबाट खुलेको उनले बताईन् ।
प्रहरीका अनुसार दम्पत्तिको हत्यामा संलग्न एकेन्द्र सडक निर्माणमा मजदुरी गर्न महाभारतको वडा नं. ४ पुगेका थिए । एकेन्द्र मृतकहरुको पसलमा बेलाबखतमा गईरहने गरेकोसमेत अनुसन्धानबाट खुलेको एसपी खड्ककाले बताईन् । उनको आर्थिक स्थिती कमजोर भएको, निजको तीन लाख रुपैयाँभन्दा बढी ऋण तिर्न बाँकी रहेकोले हत्या गरी ऋणमुक्त हुन खोजेको अनुसन्धानबाटबाट खुलेको उनले बताईन् ।
त्यसै गरी जेठ २४ गते साहिली तामाङलाई फलामको रडले शरीरको बिभिन्न भागमा बिभत्स तवरले निर्ममतापूर्वक प्रहार गरी हत्या गरेको अभियोगमा घटनास्थलमा नै मृत्यु भएको घटना सम्बन्धमा पनि तत्काल विशेष अनुसन्धान टोली घटनास्थलमा खटी उक्त घटनामा सग्लन रहेका मानध्वज तामाङलाई पनि पक्राउ गरीएको एसपी खड्ककाले जानकारी दिईन् ।
तत्काल घटना घटाउने मानिसलाई खोजतलास गर्दै जाने क्रममा सोही दिन बेलुका समयमा सोहीका तेमाल गाउँपालिका–२ को काफलडाँडा घर भएका मानध्वज तामाङलाई पक्राउ गरिएको उनले बताईन् । हत्या गरेर भागेका उनलाई हातमा २ फिट ६.५ ईन्च लबाई ३.५ ईन्च गोलाई भएको फलामको रडसहित पक्राउ गरिएको उनले जानकारी दिईन् ।
उक्त घटनामा सग्लन रहेका उनलाई अहिले जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको समेत उनले जानकारी दिईन् ।
