After header

काभ्रेको रोशी गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा लागु

काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन भएको स्थानिय तह घोषणा भएको छ । बिहिबार रोशी गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन भएको स्थानिय तह घोषणा गरिएको हो ।
शिक्षा विकास निर्देशनालय, हेटौंडाका महानिर्देशक दिपेन्द्र सुवेदीले रोशी गाउँपालिका अनिवार्य तथा निः शुल्क शिक्षा कार्यान्वयन भएको स्थानिय तह घोषणा गरेका हुन् ।

कार्यक्रममा महानिर्देशक सुवेदीले संवैधानिक हक सुनिस्चित गरेकोमा गाउँपालिकालाई आभार प्रकट गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताए । उनले अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएसंगै बालश्रम, बालविवाह उन्मुलनको लागि आधार तय हुने दावी गरे । गाउँपालिकाको १ देखि १२ वडा सम्मको ६ हजार ७ सय ५२ घरधुरीका ५ हजार ७ सय ४ जना ४ बर्षदेखि १३ बर्षसम्मका बालबालिकालाई आधारभूत शिक्षा अनिवार्य र माध्यमिक तह निशुल्क भएको सुनिस्चित भएपछि घोषणा गरिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।

सो उमेर समुहका सबै बालबालिका विद्यालय भर्ना भएको वडाहरु मार्फत जानकारी भएपछि अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानिय तह घोषणा गर्न प्रस्ताव गरिएको उनले बताए । अध्यक्ष लामाले संविधानमा भएको व्यवस्था लागु गर्न नेपाल सरकारले सुरु गरेको अभियानमा रोशी सरकारले पुर्णता दिएको बताए ।

विद्यालयहरुलाई कुनै पनि शिर्षकमा पैसा नलिन अनुरोध गर्दै गाउँपालिकाले अप्ठ्यारोमा सहयोग गर्ने र विद्यालय ल्याइएको विद्यार्थिलाई सिकाउने, विद्यालयमा टिकाउने र बजारमा बिकाउने गरि पालिकाले योजना बनाएको अध्यक्ष लामाले बताए । गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइवाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर सिमित स्रोतका बावजुद पनि अनिवार्य तथा निःशुल्क शिक्षा लागू गर्न रोशी सरकारले काम गरिएको बताए । शिक्षा क्षेत्रमा लगानी मैत्री र राज्यको जिम्मेवारी छ भन्ने कार्यन्वयनमा ल्याउनको लागि रोशी सरकार सधै लागेको वाईवाले बताए ।

अनिवार्य तथा निःशुल्क शिक्षा लागुभएपछि पनि अभिभावकले आफ्नो बालबालिकालाई आधारभूत शिक्षा प्रदान नगरेमा राज्यबाट पाउने सेवा सुविधा (नागरिकता, राष्ट्रिय परिचयपत्र, सामाजिक सुरक्षा परिचयपत्र) नपाउने ऐनमा नै व्यवस्था भएको प्रमुख प्रशासकिय अधिकृत राम तामाङले बताए । कार्यक्रममा शिक्षा, विकास तथा समन्वय इकाइ धुलिखेका प्रमुख देवका ढकालले अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएसंगै त्यसलाई टिकाउन चुनौती भएको भन्दै सबै सहकार्य आवस्यक भएको बताइन् ।

कार्यक्रममा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासघंका सचिव श्रीकृष्ण थापाले शिक्षा अनिवार्य र निःशुल्क बनाउन चुनौतीपुर्ण रहेको भन्दै सबैले जिम्मेवारी निभाउनुपर्ने बताए । नेपाल पत्रकार महासघं काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाले शिक्षा, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा रोशी गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गरेको बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस रोशीका सभापति दुधराज तामाङ, नेकपा एमाले रोशिका कार्यवहाक अध्यक्ष रहेका वडा नम्बर ५ का अध्यक्ष निरध्वज लामा, सामाजिक विकास समितिका सभापति रहेका वडा नम्बर ७ का अध्यक्ष अशोक गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टी रोशीका कुबेर गौतम, रोशि माध्यमिक विद्यालयका प्रधानाध्यापक रामशरण सिग्देल लगायतले अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएकोमा खुशी व्यक्त गर्दै कार्यान्वयनमा जोड दिए ।

यस अघि जिल्लाको बेथानचोक गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको स्थानिय तह घोषणा भएको थियो । काभ्रेमा १३ स्थानिय तह मध्ये बेथानचोक गाउँपालिका र रोशी गाउँपालिका मात्र अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको स्थनिय तह घोषणा भएका छन् ।

अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यान्वयनका लागि नेपाल सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५, अनिवार्य तथा निःशुल्क शिक्षा नियमावली २०७७ र राष्ट्रिय शिक्षा नीति २०७६ स्वीकृत गरेका थिए । अझ संघीय गणतान्त्रिक शासन कार्यान्वयनको आधार मानिएको वर्तमान संविधानले आधारभूत तह (कक्षा ८) सम्मको शिक्षा अनिवार्य र माध्यमिक तह (कक्षा १२ सम्म)को शिक्षा निःशुल्क हुने व्यवस्था गरेको छ ।

उक्त संविधान जारी भएको एक दशक पुग्न लाग्दासमेत देशमा अनिवार्य र निःशुल्क शिक्षा संविधानको धारामा मात्र सिमित बनेको छ ।

एक पटक पढ्नुहोस