काभ्रे । काभ्रेपलाञ्चोकको बनेपामा निर्माण गर्ने भनिएको तीन सय मेट्रिकटन क्षमताको शीतभण्डार (कोल्ड स्टोर) निर्माणको काम पाँच बर्षदेखि अलपत्र अवस्थामा रहेको छ । बनेपा नगरपालिका–७ मा साझेदार संस्थासँगको सहकार्यमा बनाउने भनिएको उक्त कोल्ड स्टोर निर्माणको सम्झौता गरिएपनि कुनै निर्माणका कुनै पनि प्रक्रिया अघि बढाएको छैन् ।
साझेदार संस्था कृषि बजार मल्टिपर्पाेज्ले केही बर्षदेखि निर्माणस्थल उपलब्ध गराउन नसक्दा निर्माणका कुनै प्रक्रिया अघि नबढेको जनाउँदै आएको थियो । स्टोर निर्माणले बनेपा लगायत जिल्लाका किसानले उत्पादन गरेका मौसमी तथा बेमौसमी तरकारी, फलफुल लगायत खाद्यान्न राखेर राम्रो मुल्य पाउन सक्थे ।
इलाममा करोडौँ खर्च गरेर निर्माण गरिएको शीत भण्डार (कोल्डस्टोर) प्रयोग नहुँदा किसान तथा व्यवसायी मर्कामा परेका छन् । किसानले उब्जनी गरेको फलफूल तथा तरकारी भण्डारण गर्ने स्थान नहुँदा जिल्लाका किसान तथा व्यवसायी समस्यामा परेका हुन् । पाँच वर्षअघि निर्माण हुनुपर्ने शीत भण्डार नबदा काभ्रेका किसानले उब्जनी गर्नेबित्तिकै सस्तो मूल्यमा फलफूल तथा तरकारी बेच्नुपर्ने किसानलाई बाध्यता रहेको छ ।
काभ्रे कृषि उत्पादनका लागि उर्वर भूमि मानिन्छ । जिल्लामा उत्पादित भएका तरकारी र फलफूल भण्डारण गर्ने हो भने बाहिरबाट यस्ता वस्तु ल्याउनु नपर्ने व्यवसायी बताउँछन् । प्रदेश सरकारको बजेटबाट निर्माण हुने भनिएको शीत भण्डार निर्माण नहुँदा यहाँ उत्पादित नगदेबाली भण्डारणमा समस्या भएको किसानहरु बताउछन् । शीत भण्डार नहुदा तरकारी र फलफूल सस्तोमा बेच्नुपरिरहेको किसानहरु बताउछन् ।
किसानहरु बताउछन जिल्लामा शीत भण्डार निर्माण नहुँदा अधिकांश तरकारी तथा फलफूल बारीमै कुहिएर जाने गरेको बताउछन् । शीतभण्डार निर्माणार्थ साझेदार संस्था बनेपाको कृषि बजार मल्टिपर्पाेज्का सञ्चालक छ महिनादेखि सम्पर्क विहीन अवस्थामा रहेका छन् । साझेदार संस्थाका प्रतिनिधिहरु सम्पर्कविहीन अवस्थामा रहेपछि प्रदेश सरकारले स्टोर नबन्नुको कारण खाजीकार्य सुरु गरेको जनाएको छ ।
बाग्मती प्रदेश सरकारद्वारा एक वर्षभित्र निर्माण सक्नेगरी विसं २०७६ असारदेखि तीन चरणमा नौ जिल्लाका १२ स्थानीय तहमा
शीतभण्डार निर्माणका लागि ठेकेदार कम्पनीसँग सम्झौता भए अनुसार बनेपामा पहिलो चरणमै निर्माण गरिने सम्झौता गरिएको थियो । शीतभण्डार निर्माणका लागि रु तीन करोड ६४ लाख ५६ हजार आठ सय ३६ मा इजी इन्फ्रा प्रालिसँग ठेक्का सम्झौता भएको थियो ।
किसानले उत्पादन गरेका मौसमी तरकारी र फलफूलले लागत मूल्य समेत नपाएर खेर फाल्नुपर्ने अवस्थाको अन्त्यका लागि प्रदेश सरकारले स्थानीय तह, स्थानीय सहकारी र निजी क्षेत्रको साझेदारीमा विभिन्न जिल्लामा शीतभण्डार निर्माणका योजना बनाएको थियो ।
बनेपा नगरका प्रमुख शान्तिरत्न शाक्यले उक्त परियोजनाबारे नगरको कृषि शाखामार्फत स्टोरेज नबन्नुका कारणबारे खोजविन गर्ने बताए । उनले बनेपा नगरले आउँदो आर्थिक बर्षमा कोल्ड स्टोरेज निर्माण गर्ने योजना आफ्नो नीति, कार्यक्रम तथा बजेटमा समावेश गराउने जानकारी दिए ।
प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव बिनोदकुमार भट्टराईले निर्माण सुरु हुन नसकेका तथा निर्माण रोकिएका शीतभण्डारका विषयमा आवश्यक छानविन भइरहेको बताए । उनका अनुसार निर्माण सम्पन्न भइसकेका शीतभण्डार सञ्चालनमा ल्याउन कार्यविधि निर्माण भैसकेको छ ।
किसानका उत्पादनलाई सुरक्षित राखेर बेमौसममा बेच्दा सजिलै बजार पाउने र राम्रो मूल्यसमेत आउने उद्देश्यले बाग्मती प्रदेश सरकारले आर्थिक वर्ष ०७५÷७६ को बजेट वक्तव्यमार्फत ‘एक जिल्ला–एक शीतभण्डार’ अवधारणा ल्याएको थियो ।
मन्त्रालयका अनुसार साझेदार संस्थासँगको सहकार्यमा एक वर्षभित्र निर्माण सक्ने गरी प्रदेशको जिल्लामा पहिलो चरणमा आठ, दोस्रो चरणका दुई र तेस्रो चरणका दुई शीतभण्डार निर्माणका लागि ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो ।
मन्त्रालयका अनुसार बागमती प्रदेश सरकारले स्थानीय तह, स्थानीय सहकारी र निजी क्षेत्रको साझेदारीमा प्रदेशका विभिन्न जिल्लामा ६ वर्षदेखि निर्माण थालेको एक अर्ब ६ करोडका १२ शीतभण्डार बेवारिसे बनेका हुन् । ६ वटा शीतभण्डार सम्पन्न भएर पनि प्रयोगविहीन अवस्थामा रहेका छन् भने चार वटा अधुरै छन् ।
दुई ठाउँमा निर्माण नै सुरु नभएको जनाइयो । पहिलो चरणमै दोलखाको भीमेश्वर नगरपालिका– ८ मा दुई सय मेट्रिकटन क्षमताको शीतभण्डार बनाउने ठेक्का परे पनि जग्गा नै हाइटेन्सन लाइनको मापदण्डभित्र परेपछि निर्माण कार्य रोकिएको छ । मन्त्रालय र साझेदार संस्थाले निर्माण कम्पनीलाई ३९ लाख ६२ हजार २४८ रुपैयाँ भुक्तानी गरिसकेका छन् ।
यो शीतभण्डार चार करोड ८६ लाख ८१ हजार ९४८ रुपैयाँमा निर्माण गर्ने सम्झौता भएको थियो । आजको काभ्रे सन्देश साप्ताहिकबाट प्रकाशित