After header

कानुन व्यवसायीले प्रहरी कुटेको भन्दै विरोध

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको गेटमा कानुन व्यवसायी लक्ष्मी थापाले प्रहरी जवान जीवन छिनाललाई कुटपिट गरेको भन्दै जिल्ला अदालतका कर्मचारीले विरोध जनाएका छन् ।

कानुन व्यवसायी थापाले आपराधिक कार्य गरेको भन्दै मंगलबार काठमाडौँ जिल्ला अदालत कार्यरत सम्पूर्ण कर्मचारीहरूको तर्फबाट ध्यानाकर्षण पत्र जारी गर्दै घोर भर्त्सना गरिएको छ । साथै गल्ती र आपराधिक कार्यमा संलग्न थापा उपर जाहेरी दरखास्त दर्ता गरी कानुनी कारबाही अघि बढाउन माग गरिएको छ ।

अदालतका कर्मचारीहरूले जारी गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘ न्यायपालिका जस्तो संवेदनशील क्षेत्रमा दिनरात अहोरात्र खट्ने सुरक्षाकर्मीलाई गालीगलौज गर्दै वर्दीधारी प्रहरीमाथि हातपात गरी उल्टै सो विषयलाई अतिरञ्जित गरी अदालतमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीको मनोबल गिराउने र परिस्थितिलाई विषयान्तर गरी तरलता निर्माण गर्ने र धमिलो पानीमा माछा मार्ने गरी विकसित पछिल्ला घटनाक्रमहरूले अदालतको मर्यादामा प्रहार गरिएको अनुभव गरेका छौँ ।’

कर्मचारीहरूले घटनासँग सम्बन्धित सिसिटिभी क्यामेराको फुटेज अध्ययन गरी अनुसन्धान बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन पनि माग गरेका छन् ।

यही असार २३ गते काठमाडौँ जिल्ला अदालतको गेट नम्बर ३ मा अदालतका कर्मचारी र कानुन व्यवसायीहरूको लागि मात्र प्रयोग गर्ने भनी तोकिएको क्षेत्रमा खटिएका प्रहरी जवान छिनाललाई कानुन व्यवसायी लक्ष्मी थापाले सिपाही भएर बढ्ता बोल्ने भन्दै अपशब्द प्रयोग गर्दै झापड हानेको आरोप छ ।

एक पटक पढ्नुहोस