After header

धुलिखेल–खावा सडकखण्ड बिजोग, दुईदिन मालवाहक सवारीसाधान नचल्ने

काभ्रे । धुलिखेल–खावा सडकखण्डमा आज बिहिबार र शुक्रबार दुईदिन मालवाहक सवारीसाधान नचल्ने भएका छन् । अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा दुई दिन टिपरलगायत मालवाहक सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरले आज र भोलि टिपर र मालवाहक गाडी सञ्चालनमा रोक लगाएको हो । निर्माणाधीन धुलिखेल–खावा सडकखण्ड अत्यन्तै जीर्ण भएकाले सडक निर्माणमा सहयोग गर्न सबैसँग कार्यालयले अनुरोध गरेको हो । सडक निर्माणार्थ दुई दिन पूर्ण रुपमा मालबहाक यातायातका साधान बन्द गर्न कार्यालयले बुधबार सार्वजनिक सूचनामार्फत अनुरोध गरेका हो ।

मङ्गलबार राजमार्गअन्तर्गत पर्ने धुलिखेल नगरपालिका–८ र पाँचखाल नपा– ५ का वडाध्यक्षद्वय विनोद गौतम र सीतारामा ढुङ्गाना सडक विस्तारको करिब पाँच महिना बितिसक्दा पनि निर्माण कम्पनीले लापर्वाही गरेका कारण मध्यपहाडी क्षेत्रका नागरिकले निकै सास्ती ब्यहोर्नु परेपछि मङ्गलबार सडक डिभिजन कार्यालय भक्तपुरको कार्यालयमा तालाबन्दी गर्न स्थानीयसहित पुगेका थिए ।

कार्यालयका प्रमुख मेघराज मरासिनीले आजदेखि निर्माणको कामलाई निरन्तरता दिने मौखिक सहमतिपछि बिहीबार र शुक्रबार निर्माणलाई निरन्तरता दिन मालवाहक यातायातका साधनलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको हो ।निर्माण व्यवसायीको लापर्वाहीका कारण बर्खाको समयमा सडक जीर्ण भएर काठमाडौँबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र चीन जोड्ने तातोपानी नाका आवतजावत गर्ने प्रमुख सडक जोखिमपूर्ण अवस्थामा रहेकाले निर्माण विस्तार गर्न दुई दिन मालवाहक गाडी सञ्चालनमा रहेका लगाएको कार्यालयले जनाएको छ ।

निर्माणाधीन सडकखण्डको समयसीमा गत चैत १९ गते सकिएको थियो । उक्त सडकखण्ड स्तरोन्नतिसहित विस्तारका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीबीच २०७९ जेठ २० गते २२ महिना अर्थात् २०८० चैत १९ गतेको समय तोकिएको थियो । उक्त खण्डका लागि रु २० करोड १९ लाख ४६ हजार पाँच सय बजेट विनियोजन गरिएको थियो ।

एक पटक पढ्नुहोस