चितवन । माछा मार्न गएका २ युवक राप्ती नदीमा बेपत्ता भएका छन् । पश्चिम चितवनको भरतपुर महानगरपालिका–२७ धरमपुर जमुनाघाटबाट राप्ती नदीमा माछा मार्न गएका दुई युवा बेपत्ता भएको प्रहरी जनाएको छ । इलाका प्रहरी कार्यालय पर्साढापका सई प्रमोद यादवले दिएको जानकारी अनुसार नदीमा बेपत्ता हुनेमा भरतपुर–२५ का ४३ वर्षीय सञ्जीव चौधरी र भरतपुर–२७ का ४५ वर्षीय सुकबहादुर परियार रहेका छन् ।
उनीहरुसँग नदीमा माछा मार्न गएका सोही ठाँउका रोहितकुमार चौधरी भने पौडेर बाँच्न सफल भएको यादवले बताए ।शुक्रवार दिउँसो २ बजेदेखि बेपत्ता भएका युवाहरुको खोजी गरिए पनि हालसम्म भेटिएका छैनन् ।
शनिबार बिहान ६ बजेदेखि नै निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणका सेनाको १५ जनाको टोली डुंगामा बसेर खोजी थालेको छ ।चितवन राष्ट्रिय निकुञ्जले दुई वटा हात्ती लगाएर बेपत्ताहरुको खोजी निकुञ्ज क्षेत्रमा गरेको छ ।