काठमाडौं । निर्माणाधीन नागढुंगा सुरुङ आयोजनाको भौतिक प्रगति ८० प्रतिशत नाघेको आयोजनाले दावी गरेको छ ।
आयोजनाले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार भौतिक प्रगति ८०.५० प्रतिशत पुगेको छ । आयोजनाको वित्तीय प्रगति ७४.७० प्रतिशत छ ।
त्यसैगरी आयोजनामा सुरुङतर्फको काम शतप्रतिशत पुगेको छ । जसमा सुरुङ खन्ने र कंक्रिट लाइनिङको काम समेत सकिएको छ । यहाँ २ हजार ६ सय ८८ मिटर लामो मुख्य सुरुङ र २ हजार ५ सय ५७ मिटर लामो उद्धार सुरुङ छ । यो आयोजनाको काठमाडौंतर्फको भागमा अन्डरपास, बक्स कल्भर्ट, पुल, ओभरपास र फ्लाइओभरको काम जारी छ । यसमध्ये अन्य संरचनाको काम सकिए पनि फ्लाइओभरको काम भने अझै सकिएको छ ।
जसले गर्दा भौतिक प्रगति अझै २० प्रतिशत बाँकी देखिएको छ ।यो आयोजनाको अध्ययन सन् २०१४ मा भएको थियो । २०१६ मा स्रोत सुनिश्चित भएपछि २०१७ मा डिजाइनको काम सुरु भएको थियो । जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले यस आयोजनामा काम गरिरहेको छ ।
नागढुंगा सुरुङमार्गको डिजाइन जापान सरकारको सहयोगमा भएको हो । करबाहेक साढे १३ अर्ब रुपैयाँमा यो आयोजनाको ठेक्का लागेको हो ।
