काभ्रे । पनौती नगरपालिका–११ बल्थलीस्थित ख्याकूबाट गएराती जुवा–तास खेलिरहेका २१ जना पक्राउ परेका छन् । जुवातास खेलिरहेको अवस्थामा २१ लाई पक्राउगरी रु ९३ हजार तीन सय १५ समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
पक्राउ परेकालाई इप्रका बनेपामा राखी आज म्याद थपको तयारी भइरहेको प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए । ख्याकूका रमेश थापाको घर–टहरामा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा राती प्रहरी टोलीले पक्राउ गरेको उनले जानकारी दिए । पक्राउ पर्नेमा पनौती नगरपालिकाको एक कर्मचारीसहित रहेको बताइएको छ ।
प्रहरीले यसअघि बुधबार साँझ मात्रै पनौती–९ कुँवर गाउँबाट पाँच जनालाई तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो । रु ९५ हजार नगद बरामद भएको उक्त समूहलाई मुद्धा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
