काभ्रे । विपद् ब्यवस्थापनका लागि काभ्रेका स्थानीय तहले चालु आर्थिक बर्षको बजेट विशेष अधिवेशनमार्फत संसोधन गर्न थालेका छन् । गत असोज दोस्रो साताको बाढीपहिरोका कारण जिल्लामा जनधनको ठूलो क्षति भएपछि राहत तथा पुनस्थापनाका लागि यहाँका स्थानीय तहले बिनियोजत बजेट कटौती गर्न थालेका हुन् । कटौती गरेको बजेटले प्राथमिकताका आधरमा राहत तथा पुनःनिर्माणका काम हुने ती स्थानीय तहले जनाएका छन् ।
रोशी र बेथानचोक गाउँपालिकाले विपद् प्रभावितको राहत, पुनःस्थापना एवं पुनर्बासका लागि चालु आर्थिक बर्षको बजेट संसोधन गरी विपद् कोषमा बजेट ब्यवस्थापन गरेका छन् । दुई गाउँपालिकाले तत्काल बाढीपहिरो प्रभावितलाई थप राहात प्रदान गर्न गाउँसभाको बिशेष अधिवेशनले छुट्टै बजेट ब्यवस्थापन गरेको जनाइएका छन् ।
बेथानचोक गाउँपालिकाले शुक्रबार विशेष गाउँ अधिवेशनको आह्वान गरी चालु आवमा बिनियोजित रु रु ६४ करोड १२ लाख बजेटमा रु नौ करोड ३१ लख ८७ हजार कटौती गरी विपद् ब्यवस्थापन कोषका लागि छुट्याएको छ । गाउँपालिकाले चालु आवका लागि १५औँ अधिवेशनद्वारा पारित महत्वपूर्ण योजनाबाहेकका योजना कटौती गरी विपद् ब्यवस्थापन योजना तयार गर्न लागिएको अध्यक्ष भगवान अधिकारीले बताए ।
‘प्राथमिकीकरणका आधारमा योजना फेरबदल गरेर स्थानीय विपद्प्रभावितको अस्थायी आबास पुनःनिर्माण अघि बढाउन लागेका हौँ’, उनले भने । उनका अनुसार उक्त बजजेटबाट प्राथमिकताका आधारमा पुनःनिर्माणबारे योजना बनाइनेछ । बाढीपहिरोले उक्त गाउँपालिकामा १२ को मृत्यु भएको थियो भने २३ हजा छ सय स्थानीय प्रभावित बनेको जनाइएको छ ।
संघीय सरकारद्वारा मृतकका परिवारलाई रु दुई लाखका दरले राहत दिइएको छ भने संयुक्त राष्ट्रसंघीय बालकोष (यूनिसेफ)ले दुई वटा वडाका दुई ६९ परिवारलाई संघीय सरकारबाट घोषित अल्पकालीन राहत (पाँच जनासम्मको परिवारलाई रु पन्ध्र हजार तथा पाँचभन्दा बढी सदस्य भएका परिवारलाई रु बीस हजार) प्रदान गरिएको छ ।
यस्तै रोशी गाउँपालिकाले बाढीपहिरोले ठूलो जनधनको क्षति पु¥याएपछि १५औं अधिबेशनले चालु आर्थिक बर्षको योजनाका लागि बिनियोजित बजेटबाट केही प्रतिशत कटौती गरी विपद् ब्यवस्थापन गर्न गत कात्तिक ३० गते नै विशेष सभामार्फत निर्णय गरेको थियो ।
गाउँपालिकाले विपदसँग सम्बन्धित बनाएर २ सय ६६ योजना संसोधन गरेको छ भने विपद् कोष रु २ करोड ८० लाखको बनाएको जनाएको छ । कोषको रकमले स्थानीय तहमा अत्यावश्यक विपद खर्च, बाढीपहिरोले पुर्याएको क्षतिको तथ्याङ्क सङ्कलन, राहत वितरणलगायतका विविध शीर्षकमा खर्च गर्नेगरी संसोधन गरिएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।
लामाका अनुसार तत्कालका लागि विपद्ले क्षति पु¥याएको पूर्वाधारको मर्मत तथा निर्माणका लागि रु एक करोड, विपद हेल्प डेस्कको लागि रु ५ लाख, तथ्याङ्क सङ्कलन तथा जनशक्ति परिचालनमा रु १० लाख, राहत (खाद्यान्न, लत्ताकपडा)का लागि रु ५० लाख, मृतक परिवारलाई प्रतिपरिवार रु ५० हजार, मर्मतसंभारमा रु ५० लाख, विपद् सामाग्री खरिदमा रु १० लाख तथा प्रकोप पिडितलाई सहायताका लागि रु ५५ लाख बजेट विनियोजन गरिएको छ ।
गाउँपालिकाले गत असारमा पारित बजेटको आकार घटाएको हो । चालु आवका लागि बिनियोजित रु ६९ करोड २० लाख ९८ हजारमा रु ३ करोड ४३ लाख घटाएर रु ६५ करोड ७७ लाख ९८ हजार बजेट कायम गरिएको छ ।उक्त गाउँपालिकामा बाढीपहिरोले १२ जनाको ज्यान गएको थियो भने चार सय ८२ परि पूर्णरुपमा तथा आठ सय ८३ घर आंशिक रुपमा क्षति पुगेको थियो ।
यस्तै दुई हजार पाँच सय ४४ परिवारको खेतबारीमा क्षति पुगेको जनाइएको छ । एक सय ६० खानेपानी आयोजना, एक पक्की पुल, छ ४७ विद्यालय, चार स्वास्थ्य केन्द्रमा क्षति पुगेको थियो । बाढीपहिरोले भर्खरै निर्माण सम्पन्न भएको डम्फू पार्क, १० शैय्याको अस्पताल, चिस्यान केन्द्रसहितको औद्योगिक ग्राम बगाएको छ । कार्यालयले खोज, उद्धारको काम सकिएसँगै प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा, भाडाकुँडा वितरण तथा बाढीपहिरोबाट पूर्णरुपमा घर क्षति भई मृतक तथा समस्यामा परेका एक सय १० परिवारलाई प्रारम्भिक नगद तथा अन्य राहत उपलब्ध गराइएको जनाएको छ ।
बाढीपहिरोका कारण काभ्रेपलाञ्चोकमा ७९ को मृत्यु भएको थियो । विशेषगरी ठूलो क्षति पुगेका जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित पनौती नगरपालिका तथा बेथानचोक र रोशी गाउँपालिका खोज, उद्धार तथा राहत ब्यवस्थापनपछि पुनर्बास एवं आवास निर्माणका लागि एकीन तथ्याङ्क सङ्कलनकार्यमा लागेको जनाएका छन् ।
यी स्थानीय तह जिल्लाका १३ स्थानीय तहमध्ये अति प्रभावित क्षेत्रमा पर्दछन् । घटनाको दुई महिना बितिसक्दा पनि जिल्लामा मानवीय क्षतिबाहेक अन्य विविध क्षतिबारे पूर्ण बिबरण सङ्कलन हुन सकेको छैन । जिल्लाको बनेपा र धुलिखेल नगरबाहेक ११ स्थानीय तहलाई नेपाल सरकारले सङकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
१३ स्थानीय तहमा कुन तहमा हालसम्म कति क्षति भयो भन्ने आधिकारिक विवरण जिल्लास्थित कुनैपनि सरकारी निकायसँग छैन । जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक विवरणअनुसार भने जिल्लामा दुई हजार ८ सय ४४ घर पूर्ण र ६ हजार ४६ घरमा आंशिक क्षति पुगेको छ ।
त्यस्तै, ३ हजारदेखि ३५ सय घर पुनःनिर्माण गर्नुपर्ने देखिएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ । यस्तै तीन दर्जन सरकारी भवन, तथा साही सङ्ख्यामा सार्वजनिक भवन पूर्णरुपमा क्षति भएको जनाइएको छ । जिल्ला विपद् ब्यवस्थापन समितिले भने बाढीपहिरोले पु¥याएको जनधनको एकीन बिबरण नबुझाएकाले सरकारद्वारा तत्कालीन राहत तथा पुनर्बासका लागि राष्ट्रिय विपद जोखीम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणमार्फत आउने सरकारी राहत उपलब्ध गराउन नसकिएको जनाएको छ । आजको काभ्रे सन्देश साप्ताहिक बाट
