पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र रहेका सबै नेताहरुबिच एकताको आवश्यक रहेको बताएका छन् । पोखरामा पार्टीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गदै उक्त कुरा बताएका हुन् । कार्यक्रममा देउवाले उनले यही निर्वाचन प्रणालीमा पनि बहुमत ल्याउन सकिने बताएका छन् । त्यसका लागि पार्टीका सबै नेताबीच एकता हुनुपर्ने तथा पार्टीलाई एकढिक्का बनाउनुपर्ने उनको भनाइ छ ।
‘यो संविधानअनुसार बहुमत प्राप्त गर्न सहज छैन । तै पनि पार्टी एक भएर हिँडे, मतभेद बिर्सिएर हिँडे बहुमत ल्याउन सकिन्छ,’ पार्टीभित्र क्रियाशील विभिन्न समूहहरूतर्फ संकेत गर्दै सभापति देउवाले भने, ‘पार्टीका सबै नेताहरू लागेर पार्टीलाई त्यही दिशामा अगाडि बढाउन हार्दिक अनुरोध गर्दछु ।’

उनले आफ्ना मतभेदहरू बिर्सिएर पार्टीमा एकता स्थापित गर्न सबै नेताहरू लागे पार्टीलाई बहुमत दिलाउन सकिने दोहो¥याए ।
बिपी कोइराला, गणेशमानसिंह श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाजस्ता नेताले सुम्पिएको जिम्मेवारी अहिलेको नेतृत्वको काधमा आएको भन्दै देउवाले त्यो जिम्मेवारी पूरा गर्नका लागि पनि पार्टीभित्र एकता जरुरी रहेको बताए ।
नेपाली कांग्रेसले प्रदेश सभापति तथा प्रदेश प्रशिक्षण विभागका प्रमुखहरूका लागि पोखरामा आयोजित ‘संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण’ कार्यक्रम चलिरहेको छ ।
