After header

काभ्रेको पाँचखालमा ३५ बर्षपछि २६ परिवारलाई लालपूर्जा वितरण

काभ्रे । काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाको दुई वडाका २६ परिवारलाई ३५ बर्षपछि उनीहरुले भोगचलन गर्दै आएको जमिनको लालपूर्जा प्रदान गरिएको छ । वडा नं ११ र १२ मा नक्कली जग्गाधनी बनेर उपेक्षित सक्कली जग्गाधनीलाई पूर्जा दिलाइएको हो ।

हालको दुई वडा (साविक देवभूमी बालुवा गाबिसमा पर्ने) को करिव ६५ रोपनी जग्गा चन्द्रध्वज खाँडको नाममा भुलबस नापी भएकोले स्थानीय जग्गावालाले जग्गा धनी पुर्जा बनाउन सकेका थिएनन् । जग्गा नापीका समय अर्काको नाममा गएपछि वास्तविक जग्गाधनीले पुर्जा नपाएपछि लामो समयदेखि पीडित स्थानीय सम्बन्धित निकाय धाउँदै आएका थिए ।

“आफ्नो नाममा जग्गा ल्याउन ३५ बर्षसम्म कुर्नप¥यो”, स्थानीय रामबहादुर दनुवारले भने । उनले नगर प्रमुख महेश खरेलबाट १४ आना दुई पैसा क्षेत्रफल जग्गाको पुर्जा लिएको बताए ।लालपूर्जाविहीनका लागि स्थानीय अगुवाले बर्षौँदेखि प्रयास गरिरहेका थिए । २६ परिवारलाई पाँचखाल नगर प्रमुख महेश खरेलले लालपुर्जा बितरण गरेका छन् ।

खाँडको नाममा दर्ता उक्त परिमाणको जग्गामध्ये हाल करिब २७ रोपनी जग्गाको पुर्जा बनाई बितरण गरिएको खरेलले जानकारी दिए ।पहिलो चरणमा बनेको पुर्जा २६ जना जग्गाधनीलाई पुर्जा वितरण गरियो, अब पुर्जा बन्न बाँकी रहेका जग्गाको जिल्ला मालपोत कार्यालयमा दर्ता प्रकृयासमेत अन्तिम चरणमा पुगेको उनको भनाई थियो ।

पीडितको भोगचलन तथा क्षेत्राधिकारको छानविन गरी जग्गाधनी पुर्जा बनिरहेको खरेलले बताए । आफ्नो घरघडेरीसमेत अन्यले दर्ता गरेपछि सोही समयदेखि पीडित परिवारले स्थानीय जनप्रतिनिधिलाई गुहार्दै आएका थिए । जग्गाधनी पुर्जा पाएपछि स्थानीयमा खुसियाली छाएको छ ।

एक पटक पढ्नुहोस