काभ्रे । काभ्रेकोे पाँचखाल नगरपालिकाले आफ्ना नागरिकका लागि जुनसुकै उपचार गर्न आवश्यक रगत चाहिएमा निःशुल्क उपलब्ध गराउने भएको छ । यसका लागि नगरले जिल्लास्थित नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेको छ ।
नगरका बासिन्दाका लागि जुनसुकै उपचारका लागि रगतको अभाव भएको अवस्थामा निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको नगरले जनाएको हो ।
नगर र रेडक्रससँगको द्विपक्षीय सम्झौता अनुसार पाँचखाल नगरले अग्रीम रु तीन लाख जम्मा गरी आफ्ना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था मिलाएको हो । “पाँचखालका नागरिकले कुनैपनि रोगसँग जुधेर अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले यो सम्झौता गरेका हौँ”, नगरप्रमुख महेश खरेलले भने ।
सम्झौता अनुसार रेडक्रसले निःशुल्क आवश्यक रगत उपलब्ध गराएवापत नगरले प्रतियुनिट रु एक हजार ५० का दरले रकम ब्यवस्थापन गर्ने सम्झौतामा उल्लेख गरिएको छ । निःशुल्क रगत प्रयोग गर्न पाँचखालको स्थायी बासिन्दा हुनुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
