काभ्रे । काभ्रेको धुलिखेल नगरपालिकाको आयोजनामा यही असारको २६ र २७ गते दुइदिन रोजगार मेला हुने भएको छ । कामको खोजीमा रहेका यूवाहरुलाई प्रमुख कम्पनीहरुमार्फत कामको अवसर जुटाईदिन पहल गर्ने, नयां अवसरहरुको खोजी गर्न सघाउने, आवश्यक शीप पहिचान सहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला आयोजना हुन लागेको हो ।
मेलाको विषयमा जानकारी दिन बिहिबार आयोजित पत्रकार सम्मेलनमा सामाजिक विकास समिति संयोजक एवं वडा नम्बर ३ का वडा अध्यक्ष गणेश आचार्यले सीप र क्षमता अनुसारको रोजगारी उपलब्ध गराउने उदेश्यले दुई दिने रोजगार मेला आयोजना गरिएको जानकारी दिए । ‘स्वदेशमा नै रोजगारी गर्न चाहने युवालाई आर्थिक र सामाजिक रुपमा स्थापित गराउन मेलाले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो ।
१ सय भन्दा बढीलाई नयाँ रोजगारीको अवसर सिर्जना गर्ने नगरपालिकाको उदेश्य रहेको उनको भनाई छ । हालसम्म ७० भन्दा बढी कामदारको माग भइसकेको छ ।धुलिखेल लज रिसोर्ट, सारथी, धुलिखेल माउण्टेन रिसोर्ट, आगन्तुक रिसोर्ट लगायतबाट विभिन्न पदमा कामदार माग भएको छ । काठमाडौं विश्वविद्यालय, धुलिखेल अस्पताल, होटल रिसोर्ट लगायत सरोकारवाला निकायसँग समन्वय भइरहेको अध्यक्ष आचार्यले बताए ।
नगरपालिकाले प्रदान गरेको सीपबाट उद्यमी बनेकाहरुको सीप समेत मेलामा प्रदर्शन गर्ने प्रमुख प्रशाकीय अधिकृत मोहनप्रसाद मरासिनीले बताए । दैनिक बिदेसिएका युवा शक्तिलाई नेपालमा नै रोजगारीको अवसरको सम्भावना देखाउन मेला महत्त्वपूर्ण रहने उनले बताए ।‘नेपालमा रोजगारी नपाएर बिदेसिनुपर्ने अवस्था र श्रमिक नपाएर रोजगारदाताले आप्रवासी श्रमिक भित्राउनुपर्ने बाध्यतालाई सम्बोधन गर्नेछ,’ उनले भने ।
नगरपालिकाले नयाँ कामको सुरुवात गर्न खोजेको भन्दै उनले सबै क्षेत्रको सहभागीताका लागि अनुरोध गरेका छन् ।मेलामा रोजगारदातासँग प्रत्यक्ष कुराकानी, करियर काउन्सिलिङ लगायत स्थानीय उत्पादन, स्थानीय खानाका परिकार, स्वस्थ शहरबारे जानकारी लगायतका स्टलहरु रहने रोजगार संयोजक सम्झना शर्मा नेपालले जानकारी दिइन् । जगारदाता र बेरोजगारबीच समन्वय गराउन धुलिखेल नगरपालिकाले रोजगार मेला आयोजना गरेको उनको भनाई छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत धुलिखेल नगरपालिका नमूना रोजगार केन्द्रको रुपमा छनौट भएको छ । छिमेकी पालिकासँगको समन्वयमा बढीभन्दा बढी रोजगारीको अवसर सिर्जना गर्ने गरि काम गरिरहेको नगरपालिकाले जनाएको छ । रोजगार मेलामा शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रका सम्भावना बारे समुहगत छलफल समेत हुनेछ ।
