After header

बाग्मती प्रदेशस्तरिय सुरक्षा गोष्ठी रसुवा–विपद्का कारण छोट्याइयो

काभ्रे । रसुवामा भएको विपद्जन्य घटनाका कारण आज काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरिएको बाग्मती प्रदेशस्तरिय सुरक्षा गोष्ठी छोट्याइएको छ । आज विहान नौ बजे सुरु गरिएको उक्त गोठी अपरान्ह पाँच बजेसम्मका लागि तय भएको थियो ।
बाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा एक बर्षको सुरक्षा स्थिति तथा आगामी सुरक्षा रणनीत तयार गर्ने उद्देश्यले आयोजित उक्त गोष्ठीमा मन्त्रालयका मन्त्री सुरजचन्द्र लामिछानेलगायत सङ्घीय गृह मन्त्रालयका सचिवलगायत सुरक्षा निकायका प्रमुखहरुकोसमेत सहभागिता रहेको थियो ।

समग्र सुरक्षास्थितिको समीक्षासहित सुरक्षा निकायलाई निर्देशन दिने कार्यक्रम आज विहानको रसुवामा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएपछि गृहमन्त्री रमेश लेखक अनुपस्थित हुनुपरेको लामिछानेले बताए । उनले भने, “रसुवामा आज विहानको घटनाका कारण गृहमन्त्री ज्यू आउन सक्नुभएन, उक्त घटनाका कारण हामीले पनि निर्धारित समयभन्दा करिब छ घण्टा कार्यक्रम छोट्याउनुप¥यो ।”

विहान आठ बजे सुरु हुने भनिएका कार्यक्रम नौ बजे सुरु गरिएपनि ११ः३० बजे नै सकिएको थियो । अढाई घण्टाको यस अवधिमा सुरक्षा निकायका प्रमुखहरु नेपाल प्रहरीका महानिरीक्षक दिपक थापा, शसस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा तथा नेपाली सेनाका बलाधिकृत रथी निर्मलकुमार थापाले विभागीय निर्देशन दिएका थिए । यस्तै गृहसचिव गोकर्णमणि दुवाडीले तीनै तहका सरकारकाबीच समन्वय र सहकार्यबारे प्रस्तुति गरेका थिए ।

यसैगरि राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणका प्रमुख दिनेश भट्टले प्रदेशमा विपद्को अवस्था र सरकारले गरेको कामबारे जनाकारी गराएका थिए । यस्तै बाग्मती प्रदेश सरकारका मुख्य सचिव भुपाल बरालले भएका समस्या र चुनौतिबारे तथा समन्वय र प्रदेशस्तरमा प्रहरी समायोजनका विषयबारे जानकारी गराएका थिए ।

बाग्मती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्णबहादुर शाहीले सरकारको काम–कार्वाहीका बारे तथा सङ्घीय सरकारलाई गरेको सहयोगबारे प्रस्तुति गरेका थिए । गोष्ठीमा प्रदेशस्थित १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो ।

एक पटक पढ्नुहोस