After header

मुख्यमन्त्री लामा विरुद्ध अविश्वास प्रस्तावमा श्रेष्ठ र पराजुलीले लिए फिर्ता

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमा दुई जना सांसदले आफ्नो नाम फिर्ता लिएका छन् । कांग्रेस सांसदहरू माया श्रेष्ठ र मिना पराजुलीले जानकारी नै नगराई आफूहरुलाई हस्ताक्षर गराइएको भन्दै अविश्वास प्रस्ताव फिर्ता लिएको जानकारी गराएका छन् ।

हामीहरुको असहमति रहेकोले उक्त अविश्वासको प्रस्ताव फिर्ता लिई संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ) लाई समर्थन रहेको व्यहोरा अवगत गराउँदछौं’ श्रेष्ठ र पराजुलीले जारी गरेको संयुक्त विज्ञप्तिमा लेखिएको छ । ११ साउनको मिति उल्लेख गरिएको विज्ञप्ति आज मंगलबार सार्वजनिक भएको हो ।

९ साउनमा हेटौंडास्थित प्रदेशसभा सचिवालयमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा इन्द्रबहादुर बानियाँसहित २१ जना बहुमत सांसदले लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

अविश्वास प्रस्ताव दर्ता गर्दा ९ साउनमा श्रेष्ठ र पराजुली संसदीय दलको कार्यालयमा उपस्थित थिएनन् । उनीहरुको हस्ताक्षरसहित दर्ता भएको अविश्वास प्रस्ताव उनीहरुले फिर्ता लिएकाले अब बहादुर सिंह लामाको पक्षमा १८ र इन्द्रबहादुर बानियाँको पक्षमा १९ जना छन् । ३७ जना सांसद रहेको संसदीय दलमा संसदीय दलको नेता हुन १९ जनाको समर्थन जुटाउन आवश्यक छ ।

एक पटक पढ्नुहोस