काभ्रे । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले गत साताको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गको आज अवलोकन गरेका छन् । मन्त्री घिसिङले मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीलगायतको टोलीसँग विहान काभ्रेपलाञ्चोकको नमोबद्ध नगरपालिका–६ स्थित चौकीडाँडा पुगेर रोशी खोलाको बाढीले कटान गरी क्षति पु¥याएको राजमार्गको विभिन्न खण्डको अवलोकन गरेका हुन् ।
उनले अस्थायी सडक सञ्चालनका लागि छिटोभन्दा छिटो राजमार्ग सूचारु गर्नेगरी बनाइरहेको ‘डाइभर्सन’ निर्माणकार्यलाई तीव्र बनाउन सडक विभागका अधिकारीलाई निर्देशन दिएका छन् । थप मेशिन र जनशक्ति प्रयोग गरेर राती काम गरेर भएपनि शुक्रबार बेलुकासम्ममा यातायात सञ्चालन हुनेगरी कामलाई तीव्रता दिन उनले निर्देशन दिएका छन् ।

मन्त्री घिसिङलेसडक डिभिजन, नेपाली सेना, प्रहरी र स्थानीय तहसँग समन्वय गरी मानवसहित मेशिनरी प्रयोग गरेर प्राथमिकता आधारमा मर्मत कार्य अघि बढाउन निर्देशन दिएका छन् । उनले गतसाल असोजमा रोशी खोलाले बगाएको बिपी राजमार्गहुँदै महाभारत गाउँपालिका जोड्ने थान्सिङ पुलको स्थानमा तत्काल बेलिबृज निर्माणसमेत गर्न निर्देशन दिएका छन् ।
मन्त्री घिसिङको राजमार्ग अवलोकनका क्रममा नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका र महाभारत गाउँपालिकाका जनप्रतिनिधिले राजमार्ग सुचारु नहुँदा भोग्नुपरेको समस्याबारे अवगत गराउँदै विभागका कर्मचारीले आफहरुसँग समन्वय गर्नुपर्ने माग राखेका थिए ।
बाढीले कटान गर्दा उक्त राजमार्गको करिव चार किलोमिटर डाइभर्सन पुर्णरुपमा क्षति पुगेको छ । राजमार्गको रोशी क्षेत्रमा गत सालको बाढीपहिरोले सडक क्षतिग्रस्त बनाएपछि डाइभर्सन बनाएर अस्थायी रुपमा सडक सञ्चालन हुँदै आएको थियो ।
